२०८१ भाद्र २२ गते आइतवार

दशैँको अवधिमा मात्रै दाङमा छ सय बढी सवारी चालकलाई कारबाही



दाङ, १० कार्तिक ।
चाडपर्वको समयमा ट्राफिक नियम विपरित सवारी चलाउनेलाई ट्राफिक प्रहरीले ठाउँका ठाउँ कार्बाही गरेको छ ।

तीव्र गतिमा सवारी चलाउने, सवारी चलाउँदा मादक पदार्थ सेवन गरेको, क्षमता भन्दा धेरै यात्रु बोक्ने, लाइसेन्स नबोक्ने, हेल्मेट नलगाउने, लेनको पालना नगर्ने, जथाभाबी हर्न बजाउनेलाई दाङ ट्राफिक प्रहरीले ठाउँका ठाउँ कार्बाही गरेको हो ।

दाङमा दशैमा अवधिमा छ सय बढी सवारी चालकलाई कारबाही गरिएको हो । गत असोजको २८ गतेदेखि कार्तिकको ८ गतेसम्ममा ६ सय ७९ वटा सवारी चालक कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख किरण प्रकाश मल्लले जानकारी दिनुभयो ।

प्रमुख मल्लका अनुसार ६ सय ७९ वटा सवारी साधन कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ । दशैँ अवधिमा जिल्लामा सरदर दैनिक रुपमा ८५ वटा सवारी साधन कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा धेरै मोटरसाइकल चालक छन् ।

दशैमा मात्रै २ सय ७७ वटा मोटरसाईकल चालक कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ । हेलमेट नलगाउने, लाइसेनस नबोेक्ने, दुई जना भन्दा धेरै बोकेर मोटसाइकल चलाउनेलाई कार्बाही गरिएको प्रमुख मल्लले जानकारी दिनुभयो ।

मोटरसाइकलपछि कारबाहीमा पर्नेमा दोस्रोमा जिपरकार चालक छन् । ट्राफिक नियम विपरित जिपरकार चलाउने १०२ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ । १०९ वटा अटोसरिक्सा कारबाहीमा ७४ हजार ५ सय रुपैंया राजस्व संकलन भएको छ ।

यस्तै ८७ वटा ट्रक कारबाहीबाट ६२ हजार ५ सय, ६७ वटा बस कारबाहीबाट ५० हजार ५ सय र ३७ वटा टयाक्टर कारबाहीमा पर्दा २६ हजार रुपैंया राजस्व संकलन भएको प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा हुने सवारी दुर्घटना न्यूनिकरणको लागि जिल्ला ट्राफिक प्रहरलिे सवारी जाँचलाई तिब्र पारेको ट्राफिक प्रमुख मल्लले बताउनुभयो । चाडपर्वको समयमा दुर्घटना न्यूनिकरण गर्न सवारी जाँचका लागि ६९ जना ट्राफिक प्रहरी परिचालन भएको प्रमुख मल्लले बताउनुभयो ।

प्रकाशित मिति : २०८० कार्तिक १० गते शुक्रवार