२०८१ मङ्सिर २३ गते आइतवार

विद्युत लाइन काटेपछि १५ लाख बढी बक्यौता रकम असुल



दाङ, २३ कार्तिक ।
नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले १५ लाख बढी बक्यौता रकम असुल गरेको छ । समयमा विद्युत् महसुल नतिर्ने १ सय ८३ ग्राहकको लाइन काटेपछि विद्युत प्राधिकरणले १५ लाख ८ हजार ६ सय ९१ रुपैंया १८ पैसा बक्यौता महसुल असुल गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने करिब दुई सय ग्राहकको लाइन काटेको छ । विद्युत् लाइन काटेर १५ लाख ८८ हजार बढी बक्यौता रकम असुल गरिएको प्राधिकरणले जनाएको छ ।

तुलसीपुर वितरण केन्द्रले कार्तिक १२ गते देखि विद्युत् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको छ । सोही क्रममा विद्युत् महसुल नतिर्ने एक सय ३ ग्राहकको लाईन काटिएको विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो ।

प्राधिकरणका प्रमुख गोशलीले तिहारपछि बक्यौता असुलीलाई अझै सशक्त बनाइने बताउनुभयो । असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रहरूले महसुल नतिर्ने ग्राहकहरूको लाइन काटिरहेको प्राधिकरणले जनाएको छ ।

विद्युत् महसुल संकलन विनियमावली, ०७८ बमोजिम मिटर रिडिङ भएको १६औं दिनदेखि थप दस्तुर आकर्षित हुने व्यवस्था छ । मिटर रिडिङ भएको मितिले १६औं दिनदेखि ३०औं दिनसम्म ५ प्रतिशतका दरले र ३१औं दिनदेखि ४०औं दिनसम्म १० प्रतिशतका दरले थप दस्तुर लाग्ने प्रावधान छ ।

यसैबिच विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरमा ११ दिनको अवधिमा १ सय बढी नयाँ ग्राहकको घरमा लाइन जडान गरेको छ । प्रमुख गोशलीका अनुसार ११ दिनको अबधिमा १ सय ५८ जना नयाँ ग्राहकको घरमा लाईन जडान गरिएको हो ।

नयाँ लाईन जडानबाट १९ लाख ५ हजार ३ सय ३२ रुपैंया ५६ पैसा संकलन भएको विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ ।।

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार