२०८१ साउन ८ गते बुधवार

पात टिप्न जंगल गएका चौधरीको गोली लागेर मृत्यु



दाङ, २५ कात्तिक ।
मालुका पात टिप्न जंगल गएका जुगरु चौधरीको गोली लागेर मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका ७ हनरिया घर भएका २८ वर्षिय चौधरी बिहिबार घोराही ५ मा रहेको जनसेवा सामुदायिक वनमा पात टिप्न जानु भएको थियो ।

पात टिप्न जंगल गएको समयमा मृत्यु भएको अवस्थामा शव फेला परेको सुचना पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा घोराही ५ बरलाबोट टोलका ५५ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

गोली प्रहार गरी चौधरीको हत्या गरेपछि फरार रहेका केसीलाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनकबहादुर मल्लले जानकारी दिनुभयो ।

प्रहरीले घोराही ५ को ठाँटीडाँडा वनको ठाँटी खोल्सामा रहेको ओडारभित्रबाट खाली अवस्थामा राखिएको भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने सिसाको छर्रा १ सय ७८ थान, केप ६ थान, बारुद २ डिब्बा, १ सय ६६ ग्राम, ७ सय १० मिलिग्राम, सुतिको कपडाको टुक्रा ५ थान, रगत जस्तो रातो रङको पछ्यौरा १ थान र तिर सलाइ १ थान बरामद गरेको छ ।

पक्राउ परेका केसीविरुद्ध हातहतियार, खरखजाना तथा कर्तव्य ज्यान सम्बन्धी मुद्दमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २५ गते शनिवार