दाङ, १२ मंसिर ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङले चालु वर्षको कार्तिक मसान्तसम्म राजश्व संकलनको ८६ दशमलव ०६ प्रतिशत लक्ष्य पुरा गरेको छ । कार्यालयले चालु वर्षको कार्तिक मसान्तसम्ममा ६७ करोड ९६ लाख १७ हजार संकलन गर्ने लक्ष्य राखेकोमा ८६ दशमलव ०६ प्रतिशत अर्थात ५८ करोड ४८ लाख ७९ हजार रुपैंया राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७९र८० मा चार महिनाको अवधिमा ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको कार्यालयले चालु आर्थिक वर्षमा ४ दशमलव ४ प्रतिशत बढी राजस्व संकलन गर्न सफल भएको सूचना अधिकारी तथा कर अधिकृत प्रेम बहादुर सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले गत आर्थिक वर्ष २०७९र८० को कार्तिक मसान्तसम्म ६८ करोड ७६ लाख ९२ हजार रुपैंया राजस्वको लक्ष्य राखेकोमा ५६ करोड ८० हजार अर्थात ८१ दशमलव ४४ प्रतिशत राजस्व संकलन गरेको थियो ।
कार्यालयले चालु आर्थिक वर्षमा चार महिनामा लक्ष्य अनुसार राजस्व संकलन नभए पनि गत वर्षको तुलनामा ४ दशमलव ४ प्रतिशत बढी राजस्व वृद्धि गरेको हो । कार्यालयले चालु आर्थिक वर्षको साउनदेखि कार्तिक मसान्तसम्मको चार महिनाको अवधिमा आयकरबाट २७ करोड १२ लाख ४६ हजार, बहाल करबाट ४९ लाख ७ हजार, ब्याजकरबाट १५ करोड ८१ लाख एक हजार, आन्तरिक करबाट १६ करोड ९४ लाख ३१ हजार, आन्तरिक उत्पादन कर १२ करोड ३४ लाख ८४ हजार राजस्व संकलन गरेको छ ।
गत आर्थिक वर्ष २०७९र८० मा तीन अर्ब ७ करोड ३० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य लिएको थियो । कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा २४ दशमलव ६७ प्रतिशत कम राजस्व संकलन गरेको थियो । गत वर्ष दुई अर्ब ३१ करोड ५१ लख ५ हजार अर्थात् ७५ दशमलव ३३ प्रतिशत राजस्व संकलन भएको कार्यलयका सूचना अधिकारी तथा कर अधिकृत सुनारले बताउनुभयो ।