२०८२ बैशाख ३१ गते बुधवार

अपाङ्गता भएकाहरुलाई समान अवसरको खाँचो



दाङ, १७ मंसिर ।
अपाङ्गता भएका व्यक्तिसंग पर्याप्त क्षमता भएपनिसमाजमा योगदान गर्न नपाएको बताएका छन् ।

विभिन्न अवरोधहरुका कारणले शिक्षा, स्वास्थ्य पुनस्थापना उपयूक्त रोजगारी, पहुँचयुक्त भौतिक संरचना सञ्चार, यातायात जस्ता आधारभूत सेवा र अवसरहरुलाई अन्य सरह उपयोग गर्न नपाएको गुनासो गरेका हुन् ।

३२ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखाको आयोजना तथा तुलसीपुरमा क्रियाशिल विभिन्न अपाङ्गता सम्वन्धी काम गर्ने संघ संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा सहभागीहरुले हरेक व्यक्तिमा रहेको शारीरिक वा मानसिक अवस्थालाई नभएर क्षमतालाई हेरिनुपर्ने बताएका थिए ।

सहभागीहरुले अपाङ्गता सम्वन्धी कानुन बनेपनि कानुन कार्यान्वयन नभएको बताएका हुन् । कार्यक्रममा बोल्दै बहिरा अपाङ्गता विद्यार्थी समिर बोहराले आफुहरुले पढने विद्यालयमा कक्षा ११ र १२ मा दोभासे शिक्षक नहुदा समस्या भएको गुनासो गर्नुभयो ।उहाँले आफुहरुलाई रोजगार सम्वन्धी तालिमको आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गदै राष्ट्रिय अपाङ्ग महासंघ नेपाल लुम्विनी प्रदेशका उपाध्यक्ष देवा डाँगीले गुणस्तरीय, समावेशी र पहुँचयुक्त प्राविधि मैत्री शिक्षा र पहुँचयुक्त स्वास्थ्य पुनस्थापना सेवा र सवै अस्पतालहरुमा दोभासोको व्यवस्था समावेशी जिवीकोपार्जन हुनपर्ने बताउनुभयो ।

डाँगीले कार्यपत्र प्रस्तुत गदै स्थानीय तहमा अपाङ्गता सम्विन्धी ५ बर्षिय कार्ययोजना निर्माण, अपाङता मैत्री सञ्चार व्यवहार, अपाङ्गता मैत्री कानुन निर्माण, अपाङ्गता मैत्री उपमहानगरपालिका घोषणा तथा तुलसीपुर उपमहानगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुको दोभाषे सहितको हेल्प डेक्क सञ्चालन हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख खड्काले नगरपालिकालाई अपाङ्गमैत्री बनाउने भन्दै अपाङ्गता भएका व्यक्तिहरुको हकअधिकार स्थापित गर्ने आफुहरु लाग्ने बताउनुभयो ।

उहाँले राज्यले दिने सवै किसिमका सुविधाहरु दिन आफुहरु कटिबद्ध रहेको बताउनुभयो । उपप्रमुख स्यानी चौधरीले उपमहानगरपालिका विद्यालय, बाटो भवनहरु अपाङ्ग मैत्री बनाउन आफुहरु लाग्ने बताउनुभयो ।

महिला बालबालिका तथा सामाजिक महाशाखाकी प्रमुख माया श्रेष्ठको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण अभियान्ता दोलख खत्रीले गर्नुभएको हो ।।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार