२०८१ मङ्सिर २३ गते आइतवार

शुरू भयाे तुलसीपुर १८ मा कुकुर बन्ध्याकरण



तुलसीपुर, १९ मंसिर ।
तुलसीपुरमा सामुदायिक कुकुरको बन्ध्याकरण गर्न शुरु गरिएको छ । ‘सामुदायिक कुकुर बन्ध्याकरण गरि रेविज रोग नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मंगलबारदेखि तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को प्राङ्गणमा कुकुरको बन्ध्याकरण गर्न सुरु भएको हो ।

बन्ध्याकरण कार्यक्रम मंसीर २२ गतेसम्म संचालन हुने भएको छ । भेटनरी अस्पताल तथा पशु बिज्ञ केन्द्र दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को समन्वय एवम् हिमालयन एनिमल रिस्युस ट्रस्टको प्राबिधिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन भएको हो ।

समाजमा बढ्दै गईरहेको भुसिया कुकुरहरुको बिगबिगी र छाडा कुकुरहरुले मच्चाईरहेको आतङ्कलाई नियन्त्रण गर्न तुलसीपुर-१८ ले गत मंसीर ११ गते सरोकारवालाहरुसँग छलफल गरि काम अघि बढाएको हो । सोहि अनुरुप मंगलबार बिहान तुलसीपुर-१८ अन्तर्गत दुधरास, अक्कासी, सातकुले, मनिकापुर बाट ४५ वटा कुकुरहरु छोपी ति कुकुरहरुलाई रेविज बिरुद्धको खोप र उनिहरुको बन्ध्याकरण गरिएको हो ।

मंगलबार सामुदायिक कुकुर बन्ध्याकरण उद्घाटन कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले समाजमा अहिले बौलाहा कुकुरहरुले आतङ्क मच्चाईरहेको र स्कुल हिड्दै गरेका, बाटो हिडदै गरेका मानीसहरुलाई टोकी उनिहरुलाई घाईते बनाएको जन गुनासो आईरहेकोले यसलाई नियन्त्रण गर्न जरुरी ठानेर वडा नं।१८ ले समन्वय गरेको कामको प्रसंसा गर्नुभयो ।

भेटनरी अस्पताल पशु सेवा बिज्ञ केन्द्रका प्रसासन शाखा प्रमुख शेर बहादुर केसी, पशु विकास अधिकृत प्रतिमा बिष्ट, हर्टका चेयर पर्सन खगेश्वर भट्टराई लगाएतले आफ्नो धारणा ब्यक्त गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष माधव वलीको अध्यक्षता एवम् तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आथित्यतामा भएको कार्यक्रम तुलसीपुर-१८ का वडा सदस्य शितल प्रसाद बुढा मगरको स्वागत मन्तब्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजिकरण तुलसीपुर-१८ का वडा सचिव रामकुमारी मरासिनीले गर्नुभएको हो

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार