२०८१ बैशाख ५ गते बुधवार

तुलसीपुरमा सडकपेटी मिचेर बनाइएका संचना डोजर चलाएर भत्काउन थालीयो



दाङ,२१ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सडकपेटी मिचेर बनाइएका संचना भत्काउन सुरु गरेको छ । बजार क्षेत्रमै सडकपेटी र नाला मिचेर बनाएका संरचना भत्काउन पालिकाले घरधनीहरुलाई सूचना गर्दा पनि सुनुवाई नभएपछि बिहिबारदेखि आफै भत्काउन सुरु गरेको हो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टीकाराम खड्काले फुटपाथ क्षेत्र पैदलयात्रुलाई हिडडुल गर्न कठिनाई भएपछि अतिक्रमण हटाउन सुरु गरिएको बताउनुभयो । पालिकाले संरचना हटाउनका लागि सूचना जारी गर्दै आएपनि फुटपाथमै संरचना बनाएर व्यापार गर्न थालेपछि पालिकाले डोजर चलाएर हटाउन सुरु गरेको हो । पालिकाले पटकपटक सूचना गर्दा पनि नालामाथीको संरचना नहटाएपछि बिहिबारदेखि बजारक्षेत्र सफा राख्न र पैदलयात्रुलाई हिँड्न सहज बनाउन फुटपाथ क्षेत्रमा डोजर चलाउन सुरु गरिएको बताउनुभयो ।

नापनक्सा बिना नै तुलसीपुर क्षेत्रमा कति घर सकडपेटी मिचेर बनेका छन् भन्ने यकिन तथ्याङक भन्न नसकिने प्रमुख खड्काले बताउनुभयो । उहाँका अनुसार गत वर्ष बसपार्क क्षेत्रका करिब एक सय वटा घरमा नाप नक्सा गरी मापदण्ड विपरीत रहेको चिन्ह लगाइएको थियो । तर घरमा लगाइएको चिन्ह हटाएको पाइएको छ । पालिकाले अटेर गर्नेलाई कानुनी बारबाही गर्ने उहाँले चेतावनी समेत दिनुभएको छ ।

पहिलो चरणमा बिहिबार बिपीचोक आसपासबाट अतिक्रमित संरचना हटाउन सुरु गरेको सरसफाई तथा फोहोर व्यवस्थापन शाखाका सहायक प्रमुख खेमकान्त पाण्डेले जानकारी दिनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को बजार क्षेत्रभित्र सबै ठाँउमा यो समस्या रहेको उहाँको भनाई छ । नगर प्रमुख टिकाराम खडकाको निर्देशनमा बिहिबारदेखि अतिक्रमित संरचना हटाउन सुरु गरिएको उहाँले बताउनुभयो ।

नालामाथी बनाइएका संरचनाले बजारको सौन्दर्यता नराम्रो देखिनुको साथै सवारी दुर्घटना र फोहोर व्यवस्थापनमा पनि समस्या आएको पाण्डेले बताउनुभयो । नालामाथी संरचनाहरु भएकाले नालामा फोहोर जम्मा हुँदा फोहोरमैला व्यवस्थापन गर्न गाह्रो भएको उहाँको भनाई छ ।

ग लाइनबाट शुरुवात गरेपनि बजार क्षेत्रभित्रका हरेक स्थानमा नालामाथी बनाइएका संरचना मात्रै हटाउन लागेको बताउनुभयो । यसरी सडकपेटी र नालामाथी बनाइएको संरचना हटाउन करिब एक महिनाको समय लाग्ने पाण्डेले बताउनुभयो ।

संरचना हटाउनको लागि बजार क्षेत्रमा अटोमार्फत् सूचना दिदा पनि घरधनीहरुले अटेर गरेपछि नगरप्रमुखको निर्देशनमा अतिक्रमित संरचनामाथी डोजर चलाउन सुरु गरेको पाण्डेले बताउनुभयो । तुलसीपुर बजारका मुख्य पाँचवटा लाइनका विभिन्न स्थानमा घरधनीले सडकपेटी र नाला मिचेर भौतिक संरचना निर्माण गरेकाले त्यो नहटाउँदा सम्म निरन्तर भत्काउने कार्य जारी राख्ने उपमहानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर २१ गते बिहिवार