तुलसीपुुर, २४ मंसिर ।
तुलसीपुर उपमहानगरपालिकामा स्मार्ट छोरी कार्यक्रमले यसवर्ष निरन्तरता पाउन सकेको छैन् । चालुवर्षका लागि बजेट नै बिनियोजन हुन नसक्दा कार्यक्रमले निरन्तरता पाउन नसकेको हो ।
तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले चालु आर्थिक वर्षका लागि बजेट नै नहुँदा कार्यक्रमलाई निरन्तरता दिन नसकिएको बताउनुभयो ।
कार्यक्रममले निरन्तरता पाउनेबारेमा अन्यौलता हुँदा चालु आर्थिक वर्षमा जन्मिएका कुनै पनि छोरीहरुको खाता खुल्न नसकेको उहाँले बताउनुभयो ।
यद्यपी गत आर्थिक वर्ष ०७९/०८० मा स्मार्ट छोरी कार्यक्रममा समावेश भएका छोरीहरूको खातामा समेत रकम जान सकेको छैन् । तुलसीपुर उपमहानगरपालिका-५ की बिना मगरले छोरी आरोहीको खातामा अहिलेसम्म रकम जम्म्मा हुन नसकेको बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले स्मार्ट छोरी कार्यक्रमलाई निरन्तर राखेको तर केहि मोडालिडी परिवर्तन गरी निरन्तरता दिने बताउनुभयो । उहाँले सबै छोरीभन्दा पनि विपन्न वर्गको छोरीलाई स्मार्ट छोरी कार्यक्रममा समेट्ने गरी कार्यक्रमलाई निरन्तरता दिने तयारीमा रहेको बताउनुभयो ।
बालविवाह न्यूनीकरण गर्न र छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि स्मार्ट छोरी विहेबारी बीस वर्षपारी कार्यविधि पारित गरेपछि आर्थिक वर्ष ०७७/०७८ देखि यो कार्यक्रम लागु भएको थियो । कार्यक्रममा गतवर्षसम्म १ हजार ४१ ज्ना छोरीहरु समेटिएका छन् ।
कार्यक्रममा बालिका २० वर्षको हुँदासम्म उपमहानगरपालिकाले रकम जम्मा गरिदिने प्रावधान छ भने बालिका २० वर्ष पुगेपछि मात्रै रकम निकाल्न मिल्ने भनिएको छ ।