दाङ, २७ मंसिर ।
झुलेनी सेवा समाज दाङले विद्यार्थीहरुलाई पोषाक वितरण गरेको छ । तुलसीपुर १२ मा रहेको जनमुखी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई एक कार्यक्रमको आयोजना गरी विद्यालय पोषाक वितरण गरेको हो ।
समाजका अध्यक्ष गोविन्दराज भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यता तथा १२ नम्बर वडाका अध्यक्ष खुसीराम चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गदै आएको बताउनुभयो । उहाँले तुलसीपुर क्षेत्रमा रहेका सामुदायीक विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्न पालिकाले काम गरिरहेको जानकारी दिनुभयो ।
यस्तै विशिष्ट अतिथि वडा अध्यक्ष खुसीराम चौधरीले जनमुखी प्राथमीक विद्यालयका विद्याथीहरुलाई समाजले पोषाक वितरण गरेर उदाहरणीय काम गरेको बताउनुभयो । उहाँले वडासरकार र सामाजिक संस्थाको हातेमालोमा यस्तो कार्यक्रम गरेमा खुसी व्यक्त गर्नुभयोे । वडाले आगामी दिनमा बजेट नै व्यवस्था गरी सामुदायीक विद्यालयहरुमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
झुलेनी समाजका शिक्षा संयोजक विष्णु भण्डारीले बालबालिकाको शिक्षाका लागि विद्यालयसंगै परिवार पनि उत्तिकै जिम्मेवार रहेको बताउनुभयो । बालबालिकामा गरेको लगानीले भविष्यमा देशका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष गोविन्दराज भण्डारीले सामाजीक कार्य अन्तर्गत विद्यालयमा अध्ययनरत ८१ जना विद्यार्थीहरुलाई करिव ७० हजार बराबरको विद्यालय पोषाक वितरण गरिएको जानकारी दिनुभयो । समाजले विगतदेखि नै यस्तो सामाजीक काम गदै आएको उहाँको भनाई छ । समाजले हरेका वर्ष एक जना प्लसटु पढ्ने विद्यार्थीलाई निःशुल्क रुपमा पढाउदै पनि आएको उहाँले बताउनुभयो ।
संस्थाका उपाध्यक्ष सुरज भण्डारीकोे स्वागतबाट सुरु भएको कार्यक्रमको सहजीकरण सहसचिव नारायण भण्डारीले गर्नुभएको हो । कार्यक्रममा धन्यवाद ज्ञापन विद्यालयका प्रधानाध्यापक लिलाधर खड्काले गर्नुभएको हो ।