२०८१ फाल्गुन २ गते शुक्रवार

राप्ती स्वास्थ्य प्रतिष्ठानमा ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन



दाङ,२४ पुस ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याप्रोस्कोपी प्रविधिबाट फुटेको आन्द्राको सफल अप्रेसन गरीएको छ । घोराही गोग्ली निवासि एक जना विरामिको फुटेको आन्द्राको अप्रेसन ल्याप्रोस्कोपी प्रविधिबाट गरिएको हो ।

प्रतिष्ठानको सर्जरी विभागमा रहेका सर्जनहरु डा.सुर्यमान लिम्वु, डा.अभिषेक पौडेल, डा. आनन्द न्यौपाने, डा.आत्मानन्द वर्मासहीतको चिकित्सक, स्वास्थ्यकर्मि, नर्शसहीतको टोलिले फुटेको आन्द्राको ‘ल्याप्रोस्कोपी’ प्रविधिबाट अप्रेसन गर्नुभएको प्रतिष्ठानका सुचना अधिकारी निशानदाजु भट्टराइले बताउनुभयो ।

विरामिको सानो आन्द्रा प्वाल परेकोले दुरविनको माध्यमवाट फुटेको आन्द्रा सिलाएको अप्रेसनमा संलग्न चिकित्सक सर्जन डा.आनन्द न्यौपानेले जानकारी दिनुभयो ।

यसअघि फुटेको आन्द्राको चिरेर हुँदै आएको अप्रेसन पहिलोपटक प्रतिष्ठानमा दुरविनि विधिवाट सुरु भएको सुचना अधिकारी भट्टराइले बताउनुभयो ।
सर्जन डा.अभिषेक पौडेलका अनुसार विरामिको अवस्था सामान्य रहेको र अबको केही दिनमा विरामि निको भएर घर फर्किने छन् ।

चिकित्सकहरूका अनुसार यो प्रविधिबाट अप्रेसन गर्दा घाउ सानो हुने, रगत कम बग्ने, घाउ छिटो निको हुने, घाउको दाग सानो देखिने, संक्रमणको जोखिम कम हुने र बिरामीलाई डिस्चार्ज छिटो गर्न मिल्नेजस्ता फाइदा हुन्छन् ।

पेटमा साना प्वाल बनाएर दूरबिनका मद्दतले तल्लो पेटका भित्री अंगका समस्या हेर्ने विधि नै ल्याप्रोस्कोपी हो । पछिल्लो समय नेपालमा भित्र्याइएका प्रविधिमध्ये ल्याप्रोस्कोपी सर्जरी सुरक्षित र भरपर्दो विधिका रूपमा चिनिन थालेको सर्जन डा। सुर्यमान लिम्वुले बताउनुभयो । उहाँका अनुसार ‘यो विधिअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अंगमाथि प्वाल बनाएर क्यामेरा राखिन्छ र जसको माध्यमले भित्रको अवस्था हेरेर औजारको प्रयोगमार्फत शल्यक्रिया गरिन्छ ।

प्रकाशित मिति : २०८० पुष २४ गते मङ्गलवार