२०८१ चैत्र ३ गते आइतवार

दामोदर सडक कालोपत्रेका लागी पहल गर्छु :मन्त्री मास्की



तुलसीपुर, २७ पुस ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दामोदर सडक कालोपत्रेका लागि आगामी बर्षको बजेटमा ब्यबस्था गर्ने बताउनुभएको छ । दाङको दंगीशरण गाउँपालिका वडा नं. ६ स्थित त्रिशक्ति कृषि सहकारी संस्थाले सञ्चालनमा ल्याएको दुघ्द चिस्यान केन्द्र तथा डेरी शपको उद्घाटन गर्दै मन्त्री मास्कीले बहुबर्षिय बनाएर दुई बर्ष भित्र कालोपत्रे गर्ने आफ्नो योजना रहेको बताउनुभयो ।

पश्चिम दाङको बाघमारे हुँदै हापुरे जोड्ने सडक बीचका सबै खोलामा पुल हालेको र त्यसमा केहीको टेण्डर पनि भइरहेको उहाँले बताउनुभयो । साथै केही खोलाहरुमा केही समयमा टेण्डर हुने समेत उहाँको भनाई छ ।

त्यस्तै माथिल्लो सडक स्तरबृद्धिका लागिपनि आफूले बजेट हालेले टेण्डरको प्रक्रिया अघि बढिसकेको बताउनुभयो । पश्चिम दाङको ठूलो योजनाका रुपमा रहेको दामोदर सडकलाई आगामी बर्षमा बजेट हाल्ने तयारी रहेको उहाँले बताउनुभयो । यो बर्ष नसमेटिएका योजनाहरुलाई आगामी बर्ष समेट्ने गरि तयारी भएको समेत जानकारी दिनुभयो ।

साथै उहाँले किसानहरुले उत्पादन गरेको उत्पादनकालागि चिस्यान केन्द्र स्थापनाकालागि बजेट बिनियोजन गरेको समेत बताउनुभयो । सोही ठाउँमा सहकारीले एक हजार लिटर क्षमताको चिस्यान केन्द्र स्थापना गरेको हो । जहाँ प्रत्येक दिन साढे दुई सय लिटर दूध उत्पादन हुनेगर्छ ।

त्यहाँ उत्पादन भएको दूध तुलसीपुरलगायतका बजारमा खपत हुने गर्छ । दुग्ध केन्द्र स्थापना भएसंगै अब विक्री नभएको दूधलाई स्टोरेज गर्न सहज हुने संस्थाका अध्यक्ष ढालबहादुर खत्रीले बताउनुभयो ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार