२०८१ साउन ८ गते बुधवार

तुलसीपुरका १७ हजार धारामा पानी वितरण गर्ने लक्ष्य सहित बबई लिफ्टीङको काम तिब्र



तुलसीपुर, १ माघ ।
तुलसीपुरमा बबईको पानी ल्याउनका लागि काम तिब्र बनेको छ । बढ्दो जनघनत्वलाई खानेपानीको सहज व्यवस्थापनका लागि बबई नदीको पानी लिफ्टिङ गरेर ल्याउन लागिएको हो ।

पाइप विस्तार, ओभरहेट ट्यांकीलगायतका काम तिब्रगतिमा भइरहेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष यमकान्त भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म करिब ४० प्रतिशत काम सकिएको छ ।

आयोजनाको काम आगामी २०८२ साल असारमा २८ मा सक्ने गरी भइरहेको उहाँले बताउनुभयो । करिब ५७ करोड लागतमा बबईको पानी लिफ्टिङ गरेर ल्याउन लागिएको हो ।

आयोजनाअन्तर्गत चारवटा ओभरहेड ट्यांकी निर्माण हुन लागेको छ भने पाँचवटा ग्राउण्ड ट्यांकी बन्दै गरेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँका अनुसार बसपार्कमा पाइप विस्तारको काम तिब्रगतिमा अघि बढेको छ ।

पानीका मुहान सुक्दै जाने तर पानीको माग बढ्दै गएकाले बबईको पानी लिफ्टिङ गरेर पानी ल्याउन लागिएको उहाँले बताउनुभयो । बबईको पानी आयो भने तुलसीपुरमा करिब १७ हजार धारामा पानी वितरण हुनेछ ।

अहिले तुलसीपुर खानेपानीका मुलकोट, राम्री, चिसापानी, धैरनी, बाख्रे, छरछरे, पहर र लाहुरेचौर गरी आठवटा ग्राभेटी मुहान छन् ।

त्यस्तै कार्यालय परिसरमा डिपबोरिङ, डुम्रीगाउँ, रजौरा, एयरपोर्ट, साविक अञ्चल प्रहरी कार्यालय परिसर, खर्चवा, झुमरे, रेड्क्रस परिसरमा भूमिगत मुहानस्रोत रहेका छन् । त्यस्तै रानीजरूवा, पातुखोला र रानीघाटमा सम्पवेल मुहान रहेका छन् ।

बबईको पानी टरिगाउँ एयरपोर्टस्थित ट्यांकी र तत्कालिन अञ्चल प्रहरी कार्यालय नजिकको ट्यांकीमा पानी ल्याइने छ । त्यसपछि अन्य सहायक ट्यांकीमा पानी वितरण हुने कोषाध्यक्ष भोला थापाले बताउनुभयो ।

अहिलेसम्म करिब ११ किलोमिटर मुख्य पाइप लाइनमध्ये करिब सात किलोमिटर गाड्ने काम भइसकेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ १ गते सोमवार