२०८१ असार १ गते शुक्रवार

मानव सेवा आश्रमको भवन शिलान्यास



तुलसीपुर, ७ माघ ।
मानव सेवा आश्रमको भवन शिलान्यास गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिरको परिसरमा निर्माण गरिने लागेको भवनको आइतबार शिलान्यास गरिएको हो ।

भवनको शिलान्यास लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले गर्नुभएको हो । भवनको शिलान्यास गर्दै अर्थमन्त्री मास्कीले लुम्बिनी प्रदेश सरकारले आश्रमको भवन निर्माणार्थ आउने बजेटले सम्बोधन गर्ने बताउनुभयो ।

उहाँले आश्रमका लागि कति रकम सहयोग गर्ने भन्ने उल्लेख नगरेपनि आश्रम भवनको लागि आवश्यक केहि रकम प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको हो ।

उहाँले बेसहारा नागरिकका लागि मानव सेवा आश्रमको अवधारणा निकै सकारात्मक पक्ष भएको उल्लेख गर्दै सबैभन्दा ठुलो धर्म मानविय सेवा भएको बताउनुभयो ।

मानव सेवा आश्रम दाङले १ बिगाह २।५ कट्ठा जग्गामा भौतिक संरचना निर्माण गर्न लागेको छ । करिब १५ करोडको लागतमा निर्माण हुन लागेको भवनको शिलान्यास गरिएको मानव सेवा आश्रमका केन्द्रीय महासचिव शुसिला केसीले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्काले भवन निर्माणका लागि स्थानीय सरकारले पनि आवश्यक रकम बिनियोजन गर्ने बताउनुभयो । तुलसीपुर-७ का अध्यक्ष राम बहादुर जिसीले मानव सेवा आश्रमको भवन निर्माणमा तीनै तहको सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

समाजसेवी उपेन्द्र पौडेलले मन्दीर परिसरमा निर्माण मानव सेवा आश्रमको स्थापना हुन लागेको आफु निकै उत्साहित भएको बताउनुभयो । भवन निर्माणको सहयोगार्थ यहि माघ १३ गतेदेखि २० गतेसम्म ज्ञानविज्ञान महायज्ञ संचालन हुन लागेको छ । महायज्ञ मूल आयोजक समितिका उपसंयोजक श्रवण कुमार आचार्यले महायज्ञमा सहभागी हुन दानदातालाई सहयोग गर्न आग्रह गर्नुभयो । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले दाङमा मानव सेवा आश्रमको भवन निर्माण हुन लागेको आफु निकै गौरभाम्वित भएको बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ ७ गते आइतवार