२०८१ मङ्सिर २३ गते आइतवार

महिला प्रहरी जवानलाई गोली हानेर भागेका झाँक्री अर्जुनखोलाबाट पक्राउ



दाङ,३ फागुन
दाङको घोराहीमा डिउटीमा खटिएका प्रहरी जवान धनमाया थापालाई गोली हानेर हत्या गर्ने उनका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका थापाका श्रीमान पनि प्रहरी भएको खुल्न आएको छ ।

श्रीमतीलाई गोली प्रहार गरेर भागेका प्रहरी सहायक हवलदार यामबहादुर झाँक्रीलाई अर्जुन खोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता(डिएसपी) जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

सहायक हवलदार झाक्रीले श्रीमतीलाई गोली प्रहार गरेर मोटरसाईकलमा भागेका थिए । घटना लगत्तै वडा प्रहरी कार्यालय लमहीबाट खटिएको टोलिले लमही नगरपालीका-६ अर्जुन खोलाबाट लोड गरेको अवस्थामा रहेको बेरेटा ९ एमएम पेस्तोल, एक थान म्यागेजिन र ७ राउन्ड गोली सहित पक्राउ गरिएको प्रबक्ता मल्लले जानकारी दिनुभयो । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

श्रीमानको गोली प्रहारबाट मृत्यु भएकी थापा सुर्खेतको पञ्चापुरी नगरपालीका-९ बिद्यापुर घर भई हाल वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन । प्रहरी जवान धनमाया थापा मगरको बिहिबार दामोदर चोकमा बेलुका ६ बजेदेखि राती १० बजेसम्म डिउटि थियो ।

२६ वर्षिय थापाले डिउटी गरीरहेकै अवस्थामा राती साढे ८ बजे उनलाई श्रीमानले गोली प्रहार गरेको प्रहरीले जनाएको छ । प्युठानको नौबहीनी गाँउपालिका–४ खवाङका ३५ वर्षिय सहायक हवलदार(थापाका श्रीमान) झाँक्रीले भे १२ प ११५० नम्बरको २२० सिसिको मोटरसाइकलमा आएर गोली प्रहार गरेका थिए ।

श्रीमतीलाई गोली प्रहार गरेर हत्या गर्ने  सहायक हवलदार झाँक्री नेपाल प्रहरी आवासिय मावि घोराही दाङमा दरवन्दी भई कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत हाल नेपालगंज बाँकेमा कार्यरत  रहेको डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।

झाँक्रीले प्रहार गरेको गोली लागेर घाईते थापालाई तत्काल उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो । उपचारका लागि पुर्याएकाे केहि समयमै अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

 

प्रकाशित मिति : २०८० फाल्गुन ४ गते शुक्रवार