दाङ, १७ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ शीतलपुरमा घाटगद्दी गरी राखिएको ५० हजार घनमिटर नदीजन्य पदार्थ गायव गरिएको छ । उपमहानगरअन्तर्गत लेखा समितिले नदीजन्य पदार्थ गायव भएको वा बिक्री भएको भए त्यसको राजश्व देखाउन भनेपछि घटनाको रहस्य बाहिरिएको हो ।
उपमहानगरको १४ औं नगरसभामा पेश गरेको प्रतिवेदनमा घाटगद्दीबाटै ठूलो परिमाणको नदिजन्य पदार्थ हराएको उल्लेख छ । लेखा समितिले नदीजन्य पदार्थको हिनामिनाको आशंका गर्दै प्रश्न उठाएपछि उपमहानगरपालिकाका विषयगत शाखाले नदीजन्य पदार्थ घाटगद्दीमा रहेको वा बिक्री भएको भए राजश्व लिएको भन्ने कुनै प्रमाण दिन नसकेपछि नदीजन्य वस्तुमा घोटाला भएको पाइएको छ ।
यसको आधिकारिक जवाफ दिने राजश्व शाखाले हो । प्रतिवेदनमा उल्लेख भएअनुसार तत्कालीन समयमा राजश्व शाखा प्रमुख ललित घर्ती हुनुहुथ्यो तर यो विषयमा आफू जानकार नभएको उहाँ बताउनुहुन्छ । यो ५० हजार घनमिटर स्टक प्रमाणित भएको कुरा लेखा समितिले प्रतिवेदनमा के को आधारमा लेख्यो भन्ने विषयमा पनि आफु कुनै जानकार नभएको उहाँले बताउनुभयो ।
५० हजार घनमिटर गिट्टी बालुवा हराएको विषयमा यसअघि कार्यपालिका बैठकमा पनि बारम्बार कुरा उठे पनि यसलाई टुंगोमा पुर्याउन नसकिएको तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीले बताउनुभयो । नयाँ युगबोध दैनिकमा एकराज भण्डारीले खबर लेख्नुभएको छ ।