तुलसीपुर,२६ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले खरका छाना विस्थापन गरेर खरका छानाे मुक्त वडा बनाउने अभियानलाई निरन्तरता दिएको छ ।
तुलसीपुर-१३ का अध्यक्ष माेहाेन पौडेलका अनुसार आर्थीक वर्ष ७९/८०मा संघिय सरकारले साेहि कार्यक्रमका लागि ७५ लाख बजेट विनियोजन गरेको थियो । संघिय योजनामा संघकै सांसदको अध्यक्षतमा वैठक बसेर सो कामलाई अगाडि बढाउनुपर्ने थियो । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा नेपाली काङ्ग्रेसबाट निर्वाचित सांसद दिपक गिरी रहनुभएकाे छ ।
बैठक बस्न नसकेकै कारण बजेट फ्रिज भएको अध्यक्ष पौडेलले बताउनुभयो। गतवर्षको बजेट फिर्ता भएपछि साेहि समस्याले चालु वर्षमा समेत बजेट विनियोजन हुन नसकेकाे पाैडेलले बताउनुभयाे।
विनयाेजित बजेट गतवर्ष कार्यान्वयन भएकाे भए चालुवर्षमा सबै खरका छाना हटाएर जस्तापाता लगाउन सकिने उहाँकाे याेजना रहेकाे थियाे। अहिले वडा नम्बर १३ का विभिन्न ठाँउमा १ सय २५ घरधुरीमा खरका छाना रहेका छन् ।
वर्षातको समयमा त्रिपालले ढाकेर गुजारा चलाएका घरमा पानी चुहीने समस्याले सताउने गरेको छ । वडालाई खरकाे छानामुक्त बनाउने अभियानमा अरुको मुख ताकेर मात्रै बस्नुभन्दा वडाले नै काम गर्न शुरु गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाको हिँउदे अधिवेशनबाट प्राप्त बजेटमा १३ नम्बर वडाले खरको छाना विस्थापन गर्न ९ लाख ९० हजार विनियोजन गरेकाे छ ।त्यस्तै विपतबाट ३ लाख ५० हजार थप गरेर कुल १२ लाख ५० हजार रकमबाट चालू वर्षमा वडामा रहेका ५० घरमा जस्तापाता लगाउने लक्ष्य रहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
चालु वर्षमा वडाले खरका छाना हटाएर जस्तापाता लगाउन ६०/४० को अवधारणा लागु गरेकोे छ । प्रत्यक घरधुरीलाई २५ हजारका दरले जस्तापाता खरिद गर्न वडा कार्यालयले रकम उपलब्ध गराउनेछ । वाँकी रहेको ४० प्रतिशत रकम घरधनि स्वयंमले व्यहोर्नुपर्ने छ । तत्कालका लागि जिर्ण अवस्थामा रहेका घर, गरिव परिवार,पिछडीएका दलित तथा वडा कार्यालयसम्म प्रत्यक्ष पहुँच नपुगेका घरधुरीमा खरका छाना हटाएर जस्तापाता लगाइनेछ । वडामा खरको छाना हटाउन वाँकी रहेका ७५ घरमा आगामी वर्ष ८१/८२ को बजेटबाट व्यबस्था गरेर १३ नम्बर वडालाई खरकाे छानामुक्त वडा घोषणा गरिने अध्यक्ष पौडेलले बताउनुभयो ।