२०८१ चैत्र ३ गते आइतवार

दलित बालबालिकालाई विपन्न लक्षित छात्रवृत्ति पाउनै सकस



दाङ, २९ फागुन ।
छात्रवृत्ति मापदण्ड वैज्ञानिक नहुँदा विपन्न लक्षित छात्रवृत्ति कार्यक्रममा दलित बालबालिकाको पहुँच पुग्न नसकेको देखिएको छ । विपन्न लक्षित कार्यक्रममा सहभागिताका लागि अनलाईन फाराम भर्नुपर्ने हुन्छ । जसलाई विद्यालयहरूले सहजीकरण गर्ने गरेका छन् । आम्दानीका श्रोत लगाएतका मापदण्ड अनुसार दलित समुदायका विद्यार्थीहरू विपन्न लक्षित कार्यक्रममा समावेश हुनै मुस्किल पर्ने गरेको तथ्याङकले देखाएको हो ।

शैक्षिक शत्र २०७९ मा विपन्न लक्षित कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका भित्र रहेका विद्यालयहरुबाट एक जना मात्र दलित विद्यार्थी समावेश भएको शिक्षा अधिकृत मन बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार गत शैक्षिक शत्र २०७९ मा सो कार्यक्रमको पहिलो चरणमा १ सय ४२ जना विद्यार्थी छनौट भएका थिए । जसमध्ये ३२ जना दलित छात्रछात्रा छनौटमा परेका थिए ।

दोस्रो चरणमा कुल १ सय ४२ जना मध्येबाट ६ जना विद्यार्थी मात्र छनौट भएका हुन् । जसमध्य गुरुजजुर नमुना माविमा अध्ययनरत एक जना दलित छात्रा रहेकी छन् भने अन्य पाँच जना जनजाति रहेका छन् ।

अधिकृत खड्काका अनुसार विपन्न लक्षित कार्यक्रममा सहभागिताका लागि शिक्षा तथा मानव श्रोत विकास सानोठीमी भक्तपुरले हरेक वर्ष आफनो वेभसाइट तथा पत्रपत्रिकामार्फत सूचना प्रकाशन गर्ने गरेको छ । सोही सूचना बमोजिम पालिका भित्र रहेका विद्यालयहरुमा जानकारी गराएर कार्यान्वयन गराउने गरिएको छ ।

विपन्न लक्षित कार्यक्रममार्फत छात्रवृति पाउन पिएमटि फाराम पहिलो पटक कक्षा ८ र दोस्रो पटक कक्षा १० सहित दुई पटक भर्नुपर्छ । कक्षा ८ मा फाराम भरेकाहरु विपन्न लक्षित कार्यक्रममा छनौट भए कक्षा ९ र १० मा उनीहरुलाई छात्रवृति प्रदान गरिन्छ । यस्तै १० कक्षामा फारम भरेर छनौट भएकाहरुले कक्षा ११ र १२ मा छात्रवृति प्राप्त गर्छन् । अनलाइनमार्फत भरिने फाराम भएकाले सबैको पहुँच समेत पुग्न नसक्ने उहाँले बताउनुभयो ।

‘पहिलो पटक लक्षित योजनामा छनौट नभएपछि दोस्रो चरणमा पुनःफाराम भर्नुपर्ने हुन्छ ।’ उहाँले भन्नुभयो-‘कतिपय विद्यालयले धेरै मेहनत गरेर फाराम भर्ने तर विद्यार्थी छनौट नहुँदा झन्झट मान्ने गरेका छन् ।’ त्यस्तै कतिपय विद्यार्थीहरुले सूचना नै प्राप्त गर्न नसक्दा समग्र रुपमा दलित बालबालिकाहरु विपन्न लक्षित कार्यक्रममा संख्यात्मक रुपमा कम छनौट भएको हुनसक्ने अधिकृत खड्काले बताउनुभयो ।

विपन्न लक्षित छात्रवृति कार्यान्वयन मापदण्ड २०७८ अनुसार कक्षा ९ र १० मा छनौट भएका छात्रछात्राहरुले वार्षिक रुपमा ६ हजारका दरले छात्रवृत्ति प्राप्त गर्न सक्ने व्यवस्था छ । यस्तै कक्षा ११ र १२ मा ५/५ क्रेडिट आवरको जीव विज्ञान, रसायन विज्ञान र भौतिक विज्ञान विषय तथा विद्यालय तहको प्राविधिक धारमा अध्ययनरत छात्रछात्राहरुले वार्षिक २४ हजार र विज्ञान विषय बाहेक अन्य विषयमा अध्ययन गर्ने विद्यार्थीको हकमा भने वार्षिक १८ हजार छात्रवृत्ति पाउने व्यवस्था छ ।

गत शैक्षिक शत्र २०७९ मा तुलसीपुर उपमहानगरपालिकामा रहेका १४८ विद्यालयमा बालविकासदेखि कक्षा १२ सम्मका ६१ हजार ७४३ जना विद्यार्थीले अध्ययन गरेका छन् । जसमा १० हजार ३४ जना दलित बालबालिकाले अध्ययन गरेको तथ्याङ्कले देखाएको छ । सरकारले कक्षा ८ सम्म अध्ययन गर्ने छात्रा र दलित छात्रछात्रा दुवैलाई वार्षिक रुपमा प्रदान गर्ने छात्रवृति वितरण गर्न तुलसीपुरमा कुनै समस्या नरहेको उहाँले बताउनुभयो ।

बितेको शैक्षिक शत्र २०७९ मा तुलसीपुर उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयमा कक्षा आठ सम्म अध्ययन गर्ने ७ हजार ५ सय २४ जना दलित छात्रछात्रालाई वार्षिक ४ सयका दरले वार्षिक ३० लाख ९६ हजार रुपैँया छात्रवृति वापतको रकम भुक्तान गरिएको छ । यसैबिच दलित महिला संघ दाङको आयोजनामा दलित विद्यार्थीलाई छात्रवृत्ति सहित निशुल्क शिक्षा कार्यान्वयन विषयक कार्यक्रममा तुलसीपुरमा सहभागीहरुले दलित समुदायबाट अध्ययनमा आएकै कारण पठनपाठनमा कुनैपनि समस्या नभएको बताएका छन् ।

कार्यक्रममा सामाजिक विकास समिति सदस्य बसन्ता केसी, प्याव्सन तुलसीपुरका कोषाध्यक्ष केश कुमार खड्का, मावि अम्बापुरका प्रधानाध्यापक थानेश्वर आचार्य, मावि कालाखोलाका प्रअ राजिब ओझा, दिपेन्द्र मावि मानपुरका प्रअ रूपेश गुप्ता,मावि सेन्टरका सहायक प्रअ रुद्र बहादुर डाँगी,महेन्द्र माविका प्रअ जित बहादुर थापा,दलित अधिकारकर्मी निर्मल नेपाली, खेमराज विश्वकर्मा लगाएतले दलित,गरिब,विपन्न र जेहेन्दार भन्ने विषय स्पष्ट नहुँदा दलित बालबालिकाहरुले पाउने सेवा सुविधाको पहुँच कम भएको बताउनुभयो । दलित महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरीको प्रमुख आतिथ्यतामा दलित विद्यार्थीलाई छात्रवृति सहित निःशुल्क शिक्षा विषयक कार्यक्रम भएको हो ।

यस्तै उपमेयर चौधरीले सबैले आफ्नो क्षेत्रबाट काम गरे शिक्षा क्षेत्रको सुधारमा असम्भव केही नरहेको बताउनुभयो । दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले राज्यका श्रोत र साधनबाट पछाडि रहेको वर्गलाई अगाढि बढाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रमको सहजिकरण संघका कार्यक्रम संयाेजक पोषण सेञ्चुरीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० फाल्गुन २९ गते मङ्गलवार