दाङ, ९ चैत ।
दाङमा अदालतका कर्मचारीलाई हनिट्रयापमा पार्ने एक महिला कारागार चलान भएकी छन् । अदालत परिसरमै बलात्कार गरेको आरोप लगाएर पैसा असुल्न खोज्ने तुलसीपुर-६ मोतिपुरकी २६ वर्षीया समीक्षा सेढाँइ कोइराला कारागार चलान भएकी हुन् । कोइरालाले आफूलाई हनिट्रयापमा पारेको भन्दै अदालतका एक कर्मचारीले उनीविरूद्व प्रहरीमा उजुरी दिएका थिए ।
प्रहरी उनलाई अपराधिक लाभ लिन खोजेको अभियोगमा अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलले दायर गरेको मुद्दामा सुनुवाइ गर्दै न्यायाधीश लोकबहादुर हमालको इजलासले १ लाख ५० हजार रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो ।
अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि उनलाई चैत ७ गते तुलसीपुर कारागार चलान गरिएको श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो । ती महिलाले सामाजिक संजाल मार्फत तहसीलदारले आफूलाई अदालत परिसरमै बलात्कार गरेको आरोप लगाएर पैसा असुल्न खोजेको प्रहरीले जनाएको छ । नेपाल प्रेसमा गणेश आचार्यले खबर लेख्नुभएको छ ।