तुलसीपुर,२४ चैत
तुलसीपुर बहुप्राविधिक शिक्षालय(मेट्रो कलेज) ले एसईई दिएर बसेका विद्यार्थीलाई उद्यमसंग जोड्न विभिन्न ६ विधामा निशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
शिक्षालय प्रमुख बसन्त आचार्यका अनुसार एसईई पछि फुर्सदको समयमा विद्यार्थीलाई श्रम र आम्दानीसंगको सम्बन्धका बारेमा जानकारी दिने र स्वरोजगार सिर्जना गर्ने उद्देश्यले सीपमूलक तालिमको आयोजना गरिएको हो ।
उहाँका अनुसार शिक्षालय परिसरमै विल्डिङ्ग इलेक्ट्रिसियन, फ्रिज र एसी मर्मत,कम्प्युटर अपरेटर तालिम प्रदान गर्न लागिएको छ । यस्तै बेकरी,विरुवा उत्पादन तथा बेमौसमी तरकारी खेतीसहित ६ विधामा निशुल्क तालिम दिन लागेको उहाँले बताउनुभयो । आफुले इच्छाएको विधामा तालिम लिनका लागि आगामी वैशाख ३ गतेसम्म आवेदन दिन सकिने छ । तालिम लिन इच्छुक विद्यार्थीले एसईईको प्रवेश पत्र भने अनिवार्य रुपमा पेश गर्नुपर्ने शिक्षालय प्रमुख आचार्यले बताउनुभयो ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको कलेजले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको साझेदारीमा वन विज्ञान,बाली विज्ञान,फुड एण्ड डेरी टेक्नोलोजी,फार्मेसी,मेकानीकल इन्जिनियरिङ र इलेक्ट्रिकल एण्ड इन्जिनियरिङ सहित ७ वटा कार्यक्रम सञ्चालन गरिरहेको छ । यस्तै नयाँ शैक्षिक शत्रबाट स्वास्थ्य तर्फको फार्मेसी कार्यक्रमका लागी समेत अनुमति प्राप्त गरीसकेको छ । कलेजले अध्ययनरत विद्यार्थीलाई पढ्दै,कमाउदै कार्यक्रम अवलम्बन गरेर विगतदेखिनै अध्यापन गराउदै आएको छ ।