तुलसीपुर, २५ चैत ।
नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्दले तुलसीपुर उपमहानगरपालिकाको सडकबत्तीको लाईन काटेको छ । तुलसीपुर उपमहानगरपालिकाले सडकबत्ती बालेको रकम नबुझाएपछि तिन दिन देखि लाईन काटिएको हो ।
तुलसीपुर उपहानगरपालिका भित्र रहेका वडा नंम्बर ६ मा रहेको दुई वटा मिटरको लाइन काटिएको तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव नारायण गोशलीले जानकारी दिनुभयो । नगरपालिका भित्र नगरपालिकाको नाममा भएको तिन वटा ग्राहक रहेका छन् । तीन वटैको गरेर आजसम्म १ करोड ३५ लाख ३८ हजार २११ रुपैंया बक्यौता रकम रहेको प्रमुख गोशलीले बताउनुभयो ।
२०७४ सालपछि तुलसीपुर उपमहानगरपालिकाले नियमित रुपमा सडकबत्तीको महसुल नबुझाएको प्राधिकरणले जनाएको छ । आफु साउनको महिनामा तुलसीपुर वितरण केन्द्रमा हाजिर भएदेखि पालिकाको नगर प्रमुख, प्रमुख प्रशासकिय अधिकृतसंग भेटेर कुरा राख्दा पनि समस्याको समाधान नभएको प्रमुख गोसलीको भनाई छ ।
यो भन्दा पहिलेपनि पालिकाको सडकबत्तीको लाईन काटिएको थियो । त्यसपछि उपमहानगरले किस्ताबन्दीमा रकम बुझाउने सहमति गरेको थियो । सहमति पछि ५ लाख रकम पालिकाले भुक्तानी गरेको हो । त्यसपछि सहमति अनुसार रकम भुक्तानी नभएको प्राधिकरणको दाबि रहेको छ।
पालिकालाई रकम भुक्तानीको लागि पटक पटक ताकेता गर्दा पनि सुनुवाई नभएपछि लाईन काट्न बाध्य भएको प्रमुख गोसलीले बताउनुभयो ।