दाङ, ७ बैशाख ।
दाङको तुलसीपुर उपमहानगरपालिकामा कक्षा ८ को वार्षिक परिक्षाको नतिजा निराशाजनक देखिएको छ । आधारभूत तह अर्थात कक्षा ८ को नतिजा सामुदायिक विद्यालयमा निराशाजनक देखिएको हो ।
संस्थागत विद्यालयमा ९४ दशमलव १४ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । तर सामुदायिक विद्यालयमा ४१ प्रतिशत विद्यार्थीमात्रै उतिर्ण भएको तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाले जनाएको छ । सामुदायिक विद्यालयका १ हजार ८ सय ५५ विद्यार्थी परिक्षामा सहभागी भएकामध्ये ७ सय ५६ जनामात्रै उतिर्ण भएका छन् ।
शिक्षा महाशाखाका अनुसार ९ सय २२ जना विद्यार्थी ग्रेडवृद्धि परिक्षामा सहभागीता जनाउन पाउने भएका छन् भने १७६ जना विद्यार्थी अनुतिर्ण नै भएका छन् । आधारभूत विद्यालय कोठरी र आधारभूत विद्यालय कटाहमा उतिर्ण हुने विद्यार्थीको संख्या शून्य रहेको छ । तुलसीपुरका ३६ सामुदायिक र ५८ संस्थागत विद्यालयबाट विद्यार्थीले कक्षा ८ को वार्षिक परिक्षा दिएका हुन् ।
संस्थागत विद्यालयबाट २ हजार २ सय ५२ जनाले परिक्षा दिएकोमा २ हजार १२० जना उतिर्ण भएका छन् भने १३२ जना विद्यार्थीले ग्रेड वृद्धि परिक्षा दिन पाउने भएका छन् । संस्थागत विद्यालयतर्फ युनाइटेड एकेडेमीका १ जना विद्यार्थी गे्रड वृद्धि परिक्षा पनि दिन नपाउने गरी अनुतिर्ण भएका छन् ।
ग्रेड वृद्धिका लागि परिक्षा विद्यार्थीले यहि बैशाख ११ र १२ गते दिन पाउने भएका छन् । यसैबिच शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले सामुदायिक र नीजि दुवै विद्यालयका विद्यार्थीमा गणित विषयमा बढी समस्या देखिएको बताउनुभयो रेडियो हाम्रो पहुँचमा समाचार छ ।