२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङमा विद्यालय पुग्ने अभिभावकलाई भत्ता



दाङ,१७ बैशाख ।

दाङको एक सामुदायिक विद्यालय पुग्ने आभिभावकलाई भत्ता प्रदान गरिने भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर ७ सौडियारमा रहेकाे माध्यमिक बिद्यालय  सौडियारको बिद्यालय ब्यबस्थापन समितीले अभिभावकलाई भत्ता प्रदान गर्ने योजना अघि सारेको शिक्षक अभिभाबक संघका अध्यक्ष लोकबहादुर कवरले बताउनुभयाे ।

नयाँ शैक्षिकसत्र सुरु भएसँगै बिद्यालयले वर्षमा सबैभन्दा धेरै दिन विद्यालयमा पुग्ने अभिभावकलाई भत्तासहित सम्मान गर्ने योजना अघि बढाएको बिब्यस अध्यक्ष निशानदाजु भट्टराईले बताउनुभयाे। बिद्यालयका निमित्त प्रअ नन्दबहादुर वलिका अनुसार सामुदायिक विद्यालयमा पुग्ने अभिभावकको हाजिरीको व्यवस्था गरिनेछ ।

पछिल्लो समय सामुदायिक विद्यालयको नतिजा खस्कदै गएको भन्दै शैक्षिक गुणस्तरमा सुधार ल्याउने उद्देश्यसहित यस्तो योजना अघि सारीएको शिक्षक अभिभाबक संघका अध्यक्ष कवरले बताउनुभयाे ।

सामुदायिक विद्यालयमा अभिभावक हाजिरी रजिस्टरको व्यवस्थासँगै सबैभन्दा धेरै दिन विद्यालयमा पुगेर आफ्ना सन्तानको पढाइप्रति चासो राख्ने अभिभावकलाई शैक्षिकसत्रको अन्तिममा नगद भत्तासहित सम्मान गर्ने कार्य अघि बढाईएको निमित्त प्रअ वलिले बताउनुभयाे।

सामुदायिक विद्यालयप्रति अभिभावकको चासो निकै कम हुँदैगएको हुँदा विद्यालयले पत्राचार गर्दा पनि अभिभावकको कम उपस्थित हुने गरेको समस्यालाई चालु शैक्षिक शत्रदेखि समाधान गर्न र शिक्षक, विद्यार्थी र अभिभावकविच समन्वय गर्न यो योजना अघि सारीएको बिब्यस अध्यक्ष भट्टराईले बताउनुभयाे।

विद्यालयले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन र नतिजा हाँसिल गर्न नसकेकाले यस्तो पहल गरिएको हो । घोराही उपमहानगरपालिका वडा नम्बर ७ भित्र हाल एक माध्यमिक, एक प्राबी र एक आधारभूत  तह गरी तीन वटा सामुदायीक विद्यालय छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार