तुलसीपुर, १९ बैशाख ।
तुलसीपुरमा बुधबार (आज) एकै दिनमा तीन ठाउँमा आगलागी भएको छ । तुलसीपुर-७ का दुई स्थान र तुलसीपुर-१२ को च्याउ फम गरी तीन ठाउँमा आगलागी भएको छ ।
तुलसीपुर-७ मा श्रीगणेश सामुदायिक बनमा दिउँसो करिब २ बजेतिर लागेको आगो करिब साढे २ घण्टापछि नियन्त्रणमा आएको बनका अध्यक्ष बामदेव भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नमुना हरियाली टोल नजिकैको स्थानमा अचानक आगो लागेको हो ।
बनमा आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकाको दमकल माग गरिएको थियो । दमकल आउँदै गरेको जानकारी नगरका कर्मचारीले जानकारी गराए तर आगो नियन्त्रणमा आउँदासम्म दमकल नआएको उहाँले बताउनुभयो । आगलागीबाट करिब ३ बिगाह क्षेत्रफल बनमा क्षति पुगेको छ ।
बनमा आगो लागेपछि स्थानीय, अस्थायी प्रहरी पोष्ट गोटीखोला, १९ नम्बर बाहिनीबाट नेपाली सेना लगायतको टोलीले आगो नियन्त्रणमा लिएको तुलसीपुर-७ का वडाअध्यक्ष जिसीले बताउनुभयो ।
यस्तै बुधबार नै तुलसीपुर-७ को जितपुरमा वस्ती नजिककैको बाँसघारीमा आगो लागेको छ । बाँसघारीमा लागेको आगो करिब डेढ घण्टामा आगो नियन्त्रणमा आएको वडा अध्यक्ष जिसीले बताउनुभयो । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएका हो । आगो नियन्त्रणका लागि तुलसीपुर उपमहानगरपालिकामा फोन गरेपनि कुनै चासो नदिएको स्थानीयको गुनासो छ ।
तुलसीपुर उपमहानगरपालिकाकाे दमकल आफै विरामी परेर ग्यारेजमा आराम गरिरहेकाले जितपुरका स्थानियले बाल्टी र गाग्रीबाट करिब २ घन्टा पानी बाेकेर आगाे निभाउन सफल भए । नजिकै ठुलो मानव वस्ती रहेकोले आगो समयमै नियन्त्रणमा आएपछि जोगिएको छ ।
यस्तै बुधबार नै तुलसीपुुर-१२ मा रहेको बहुउद्देश्यीय कृषि फममा आगलागी भएको छ । आगलागीबाट करिब १ करोडको क्षति भएको छ । फममा आगलागीको कारण खुल्न नसकेको वडा अध्यक्ष खुशीराम चौधरीले बताउनुभयो । आगलागी हुने बेलामा फमका संचालक सन्तोष घिमिरे घोराहीमा हुनुहुन्थ्यो । आगलागी भएको करिब २ घण्टापछि उहाँ आउनुभएको थियो ।
आगलागीको एकिन कारण खुल्न सकेको छैन् । आगो बुधबार दिउसो साढे १ बजेतिर लागेको र करिब ३ घण्टापछि ठुलो आगो नियन्त्रणमा आएपनि परालमा अहिले पनि आगोको लागिरहेको छ ।
आगलागीबाट बिक्रिका लागि तयारी रहेका च्याउ जलेर नष्ट भएको छ । आगो नियन्त्रण गर्न नगरबाट दमकल बिग्रिएका कारण ट्यांकरको सहायता लिइएको हो । तर दमकलजस्तो प्रभावकारी नभएको स्थानीयको भनाई छ ।
दमकल बिग्रेका कारणले आगलागी भएको दमकल नगएको विपद व्यवस्थापन शाखा अधिकृत टोप बहादुर डाँगीले बताउनुभयो । उहाँका अनुसार नगरको दमकल चार दिनअघि बिग्रेको हो । शान्तिनगरमा चार दिन अघि आगो निभाउन पुगेको दमकल त्यहि बिग्रीएपछि अहिले मर्मतको काम भइरहेको उहाँले बताउनुभयो ।
पश्चिम दाङका चार वटै पालिकामा तुलसीपुर उपमहानगरपालिकाको दमकलले काम चलाउने गरिएको छ । अन्य पालिकामा दमकल नहुँदा तुलसीपुरकै दमकलले अन्य पालिकामा पनि आगो निभाउने गरेको बढी समस्या देखिने गरेको उहाँले दावि गर्नुभयो । दमकल मर्मतका लागि पालिकाले पटक पटक सूचना सार्वजनिक गर्ने गरेकाे छ । गत असाेज १५ गते दमकल बिग्रेपछि मर्मतका लागि पठाईएकाे भन्दै सेवा दिन नसकिने जनाएकाे थियाे ।
गर्मि बढेसंगै आगलागीका घटना तुलसीपुरमा बढिरहेका छन् । गत चैत ५ गतेपनि मर्मतका लागि दमकल पठाइएकाले सेवा बन्द रहेकाे सूचना सार्वजनिक भएकाे थियाे ।
एक सातापछि फेरि दमकल सेवा सञ्चालनमा आएकाे सूचाना उपमहानगरले जारी गर्याे।
सञ्चालनमा आएकाे एक महिनामै फेरि उपमहानगरले बैशाख १६ गते दमकल विग्रिएकाले मर्मत गर्नुपर्ने सूचना जारी गर्दै घाेराही उपमहानगरपालिकाकाे दमकलबाट सहयाेग लिन आग्रह गरेकाे छ ।
राज्यसंग भएकाे स्रोत साधन विपत पुर्व तयारी अवस्थामा राख्नुपर्नेमा उपमहानगरले समयमै चासाे नदिदा जाेखिम बढेकाे स्थानिय बताउछन् ।