दाङ, २४ बैशाख ।
रेडियो हाम्रो पहुँचका स्टेशन म्यानेजर बसन्त पौडेल र नयाँ युगबोध दैनिक तुलसीपुर शाखा प्रमुख एकराज भण्डारीलाई तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीले गरेको अभद्र व्यवहारको विभिन्न संघ संगठनले आपत्ति जनाएका छन् ।
स्वतन्त्र पकार संघ नेपाल दाङ, प्रेस चौतारी दाङ, प्रेस सेन्टर दाङ लगायतका संगठनले प्रमुख प्रशासकिय अधिकृत डाँगीको अभ्रद व्यवहारप्रति आपत्ति जनाएका हुन् ।
संघ संगठनले छुट्टाछुटै विज्ञप्ती निकालेर प्रमुख प्रशासकिय अधिकृत डाँगीको प्रवृतिको बिरोध जनाएका छन् ।
स्वतन्त्र पत्रकार संघ दाङका अध्यक्ष जीतसागर जी.एम., प्रेस चौतारी दाङका अध्यक्ष प्रेम बहादुर राम्जा र प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्मा र सचिव जनक नेपालीले छुट्टाछुटै विज्ञप्ती निकालेर समाचार प्रकाशनको लागि निवेदन दिँदा सुचना दिनुको साटो उल्टै पत्रकारमाथि गरिएको अभद्र व्यवहारले स्वतन्त्र प्रेसप्रति उपमहानगरपालिकाको प्रतिवद्धतामा शंका पैदा भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सुचनाको हकसम्बन्धि ऐन २०६४ को सम्मान गर्दै विधिपूर्वक माग गरिएको सुचना उपलब्ध गराउन माग गरिएको उल्लेख गरिएको छ । यस्तै आगामी दिनमा यस्तो किसिमको कार्य दोहोरिन नदिन ध्यानाकर्षण गरिएको छ ।
आइतबार पत्रकार पौडेल र भण्डारी तुलसीपुर उपमहानगरपालिकाको दमकल मर्मत खर्चको विवरण माग गर्न प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा पुगेका बेला अभद्र व्यवहार भएको हो ।