दाङ,२५ बैशाख ।
तुलसीपुर उपमहानगरपालिकाले जेष्ठ नागरिकलाई घरमै गएर वृद्व भत्ता वितरण गर्न बैकलाई आग्रह गरेको छ । उपमहानगरले मंगलबार तुलसीपुर क्षेत्रका बैकका प्रतिनिधिलाई बोलाएर ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गरेको हो ।
उपमहानगर प्रमुख टिकाराम खड्काले बैकले ८० बर्ष पुगेका जेष्ठ नागरिकलाई घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आग्रह गर्दै त्यसो नगरे उपमहानगरले विकल्प खोज्ने बताउनुभयो । ´जेष्ठ नागरिक भत्ता बुझ्न बैकमा लाइन लागेको दृश्य राम्रो भएन ।` उपमहानगर प्रमुख खड्काले भन्नुभयो,´तपाईहरू स्थानीय सरकारको निर्देशन मान्नुहुन्न भने विकल्प खोजिन्छ ।`
कार्यक्रममा उप-प्रमुख स्यानी चौधरीले बैकहरूले कानुनी बमोजिम सामाजिक काममा दायित्व बहन गर्नुपर्ने बताउनुभयो । छलफलमा सहभागी बैकका प्रतिनिधिहरूले स्थानीय सरकारको निर्णय पालना गर्न र सामाजिक दायित्व पुरा गर्न तयार रहेको बताएका छन् ।