२०८१ माघ ६ गते आइतवार

तुलसीपुर उवासंघको निर्वाचनः व्यवसायीहरु भन्छन्- ‘यसपटक सिण्डिकेट तोडिन्छ’



तुलसीपुर, २७ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि दुईवटा प्यानल अघि सरेका छन् । अनौठो कुरा के भने दुबै प्यानलको अध्यक्ष पदमा कांग्रसकै उम्मेदवार छन् । अध्यक्ष पदको टिकटका लागि पार्टीले न्याय गर्ने अपेक्षामा बसेको वर्तमान वरिष्ठ उपाध्यक्ष ललितजंग शाहलाई पार्टीले निराश बनाउँदै पदिय रोलक्रममा कनिष्ठ रहेका वर्तमान महासचिव विनिल केसीलाई अध्यक्ष पदका लागि अघि सार्‍यो ।

नेतृत्व पहिचानमा एमाले प्रतिवद्ध छ : केन्द्रीय सदस्य केसी

पार्टी नेतृत्वबाट आफूमाथि अन्याय भएको महसुस गरेका शाहलाई यस क्षेत्रमा क्रियाशील रहेका अन्य दलहरुले तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष पदका लागि आवश्यक र उपयुक्त ठाने र संयुक्त प्यानलको अध्यक्ष पदमा उम्मेदवारको रुपमा अघि सारे । नेकपा एमाले निर्वाचन आयोगका केन्द्रीय सदस्य हिराचन्द्र केसीले तुलसीपुर उद्योग वाणिज्य संघमा शाहको योगदानको कदर गर्दै संयुक्त प्यानलको अध्यक्ष पदमा अघि सारेको बताउनुभयो ।

‘वैचारिक हिसाबले उहाँ अन्य दलमा आवद्ध हुनुहोला तर २०६७ देखि २०८१ सालसम्म शाहले सदस्य, कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्ष भएर संस्थाको हितमा काम गर्दै आउनुभएको छ । त्यसकारण उहाँ भन्दा उपयुक्त अन्य पात्र हुन सक्दैन भन्ने नेकपा एमालेको बुझाइ हो । जुनसुकै दलको होस् तर नेतृत्व पहिचानमा एमाले प्रतिवद्ध छ’- केन्द्रीय सदस्य केसीले भन्नुभयो- ‘यो कुरामा यस क्षेत्रमा क्रियाशील सम्पूणर् दलहरुको सहमति भएपछि शाहलाई संयुक्त प्यानलबाट अध्यक्ष पदका लागि अघि बढाएका छौं । उहाँको जित निश्चित नै छ । किनभने उद्योग वाणिज्य संघजस्तो साझा संस्थालाई कुनै निहीत दलको कब्जामा रहन दिनुहुन्न भन्ने कुरामा व्यवसायीहरु एकमत हुनुहुन्छ ।’

यसपटक सिण्डिकेट तोडिन्छ :व्यवसायी वली

शाहलाई यस क्षेत्रका कांग्रेस, एमाले, माओवादीलगायत आठ दलको समर्थन छ भने अर्को प्यानलका विनिल केसीलाई फुटको संघारबाट गुज्रिएको कांग्रेसको मात्रै समर्थन छ । यसकारण पनि शाह नेतृत्वको प्यानले नै जित हात पार्ने कांग्रेस निकटकै व्यवसायीहरुको आँकलन छ । ‘वरिष्ठताको कदर नगर्ने, प्रभावमा परेर नेतृत्व अघि सार्ने, सामाजिक संस्थामा पनि दलगत प्रभाव देखाउन खोज्ने र परिवारवादको चंगुलमा फसेको कांग्रेसले यसपटक पाठ सिक्ने निश्चित छ । विगतदेखि नै तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वका लागि कांग्रेसले अघि सार्ने पात्रहरुको अनुहार सम्झनुस् त ! एउटा सीमित दायराभन्दा बाहिरको परिवारमा जान सकेको छ ?’- नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि तथा लोकतान्त्रिक होटल व्यवसायी संघका जिल्ला सचिव सुशील वलीले भन्नुभयो- ‘अहिलेको महासचिव त अध्यक्ष पदका लागि उपयुक्त हुँदारहेछन् त ! उनीहरुको सबै कुरामा सहमत हुन नसकेकै कारण दुई कार्यकालअघिको महासचिवलाई कसरी पाखा लगाए थिए । त्यसकारण पनि लामो समय उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गरेका शाहलाई उपयुक्त पात्र ठानेर सबै दलले समर्थन गरेका हुन् र शाहले नै जित्छन् । यसपटक तुलसीपुर उद्योग वाणिज्य संघमा विगतदेखिको सिण्डिकेट तोडिन्छ ।’

जित निश्चित छ, उत्साहित छु : अध्यक्ष पदका उम्मेदवार शाह

उद्योग वाणिज्य संघको नेतृत्वको अनुभव, पदिय जिम्मेवारीलगायतका विषयमा आफू अगाडि हुँदाहुँदै पनि पार्टी प्रभावमा परेर नेतृत्व सिध्याउने काम गरेको संयुक्त प्यानलका अध्यक्ष पदका उम्मेदवार शाहको आरोप छ । ‘साँच्चिकै कांग्रेस प्रभावमा नपरेरै क्षमताको आधारमा नेतृत्व स्वीकार्ने पार्टी हुन्थ्यो भने उपाध्यक्षलाई अध्यक्ष र महासचिवलाई उपाध्यक्ष पदमा टिकट दिएर पनि नेतृत्व जोगाउन सक्थ्यो । त्यसो गर्न सकेन, त्यसको क्षति कांग्रेसले नै व्यहोर्छ’- उहाँले भन्नुभयो- ‘कांग्रेसको गलत निणर्यका कारण मलाई सहज भएको छ । किनभने यो क्षेत्रका सबै दलको र मेरो विपक्षी उम्मेदवार खडा गरेको दल कांग्रेसको ठूलो हिस्साको समर्थन मलाई नै छ । त्यसकारण पनि ठूलो मतान्तरले मेरो जित निश्चित जस्तै भएको छ । असाध्यै उत्साहित छु ।’ आफू अहिले घरदैलोमा पुग्दै गर्दा अन्य दलका व्यवसायीहरुले उद्योग वाणिज्य संघको नेतृत्वका लागि सम्पूणर् दलहरु एकजुट भएर उपयुक्त पात्रको छनौट गरेको र कांग्रेस परिवारवादभन्दा बाहिर जान नसकेको भन्दै गुनासो सुनाउने गरेको शाहले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते बिहिवार