दाङ, २८ बैशाख ।
दाङमा एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १३ एगौलीकी ४० बर्सिया हिरा विकलाई प्रहरीले पक्राउ गरेको हो।
कर्तव्य ज्यान मुद्दामा फरार रहेकी विकलाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले दाङ प्रहरीसँगको समन्वयमा बबई गाउँपालिका ५ हुरुमबेलीचौरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।
विकमाथि आफ्नै देवरानीको हत्या गरेको आरोप छ । हिराले २०७५ साल पुस २५ गते बिहान आफ्नै देवरानी २८ बर्सिया कल्पना नेपालीलाई कुटपिट गरी घाइते बनाएको र घाइते कल्पनाको २०७८ मङ्सिर २९ गते मृत्यु भएको थियो । त्यसपछि फरार भएकी हिरालाई वैशाख २७ गते पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।