२०८१ माघ १० गते बिहिवार

यसरी ल्याइँदैछ बबईको पानी लिफ्टिङ गरेर तुलसीपुर



दाङ,१ जेठ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले १३ महिना भित्र बबई नदिको पानी उपभोक्ता सम्म पुर्‍याउने गरी काम अघि बढाएको छ ।

सोही तयारी अन्तर्गत बबई नदीको पानी लिफ्टिङ गर्ने काम अघि बढाइएको छ । कुल ५६ करोड ८० लाख २४ हजार ६ सय ३० काे लागतमा भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले बबई लिफ्टिङको काम सुरू गरिसकेको छ ।

सम्पवेल(इनारजस्तै पानी संकलन गर्ने प्रविधि)को शिलन्यास तुलसीपुरका मेयर टिकाराम खड्काले गर्नुभएकाे हाे । काम समयमा सम्पन्न गरी खानेपानीको समस्या समाधान गर्न मेयर खड्काले आग्रह गर्नुभयाे ।

सरकारको ७० प्रतिशत अनुदान तथा उपभोक्ताकाे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम बढेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका सचिव सेवकराम भण्डारीले जानकारी दिनुभयाे ।

सचिव भण्डारीका अनुसार सरकारले ३८ करोड ८३ लाख, १७ हजार २ सय ४१ र उपभोक्ताले १७ करोड ७ लाख ३ सय ८८ रूपैयाँमा निर्माण हुन लागेकाे हाे । उपभोक्ताका तर्फबाट अहिले ५ प्रतिशत र बाँकी २५ प्रतिशत नगर विकास समितिबाट ऋण ल्याएर काम अघि बढाइएको सदस्य आशा जिशीले जानकारी दिनुभयाे। नगर विकास समितिबाट  १४ करोड २२ लाख ५६ हजार १ सय ५८ ऋण लिएको र बाँकी  २ करोड ८४ लाख ५१ हजार २ सय ३१ उपभोक्ताबाट संकलन गरिएकाे सदस्य जिशीले बताउनुभयाे ।

बबईको पानी तुलसीपुर ल्याउन ३ वटा सम्पवेल तुलसीपुर–अमिलिया सडकको बबई पुलदेखि पूर्वमा निर्माण गरिने छ भने त्यसको ३ सय मिटर उत्तरमा ट्रिटमेन्ट प्लान बनाइने छ । त्यहाँ ‘र्‍यापिड स्यान्ड फिल्टर’ दुई वटा र ‘मल्टी ग्रेड प्रेसर फिल्टर’ ६ वटा निर्माण गरिने छ । ‘मल्टी ग्रेड फिल्टर’ समेत बनाइने छ ।

तुलसीपुरको शिखर कोलेनीमा ४५० घनमिटर, झुमरेमा ४५० घनमिटर, मोतिपुरमा २२५ घनमिटर, इन्द्रनगरमा ४५० मिटर घनमिटर ओभरहेड ट्याङ्की पनि निर्माण गरिने छ । त्यस्तै डुम्रीगाउँमा ६०० घनमिटर र खानेपानी कार्यालय परिसरमा ३०० घनमिटर अन्डरग्राउन्ड ट्याङ्की निर्माण हुनेछन् ।
२८ दशमलव ३१५ किलोमिटर प्रशारण पाइपलाइन विस्तार गरिने छ । बबई लिफ्टिङबाट डिपबोरिङमार्फत् प्रतिसेकेन्ड ६० लिटर पानी आपूर्ति गर्न सकिनेछ । विभिन्न ६ स्थानमा डिपबोरिङ निर्माण गरिनेछ । जसबाट प्रतिसेकेन्ड ४० लिटर पानी आपूर्ति गरिनेछ ।

तुलसीपुर खानेपानी अन्तर्गत हालसम्म ८ हजार २ सय २६ धारा छन् । तर, बबई लिफ्टिङको काम पूरा भएमा चार हजार सात सय धारा थप हुने उपाध्यक्ष सिताराम शर्माले  जानकारी दिनुभयाे । उहाँका अनुसार २०८२ असार ३ गतेसम्म उपभोक्ताको घरमा बबई नदिको खानेपानी पुर्‍याइने छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार