२०८१ जेष्ठ ३१ गते बिहिवार

बहुविवाहका अभियोगमा दाङका पौडेल पुर्पक्षका लागि कारागार चलान



दाङ, ३ जेठ ।
दाङमा बहुविवाह गरेको अभियोगमा एक जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । दाङ जिल्ला अदालतले घोराही-१५ तुलसीपुर चोक निवासी सरोज पौडेललाई बहुविवाहको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

पौडेल आफुविरुद्ध मुद्धा दर्ता भएपछि भागेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले पौडेललाई फरार सुचिमा राखेर घटनाबारे अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय घोराहीलाई फाइल बुझाएको थियो ।

आफै फरार रहेका पौडेल गएको वैशाख २५ गते अदालतमा हाजिर भएका थिए । जिल्ला न्यायधिश तारा शर्माको एकल इजलाशले थुनछेकका क्रममा मुद्धाको अन्तिम टुङ्गो नलाग्दासम्म पौडेललाई तत्कालको प्रमाणको आधारमा पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश गरेको हो ।

पौडेललाई अदालतको आदेश अनुसार कारागार बुझाइएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताउनुभयो । अदालतले आफ्नो जेठी पत्नी हुँदाहुँदै सम्वन्ध विच्छेद नगरेर विदेश जाने लोभमा कान्छि श्रीमतिसंग विवाह गरेर सम्वन्ध विच्छेद गरेको कागजलाई प्रमाणकोरुपमा लिएको छ ।

अदालतमा पिडित महिलालले आफुलाई कुटपिट गरेर खानलाउन नदिई घरबाट निकाला गरेको बयान दिएकी छिन् । यसअघि प्रहरी र सरकारी वकिललाई दवाव दिएर पौडेललाई बहु विवाहको आरोपबाट उन्मुक्ती दिने प्रयास गरीएको थियो । जिल्ला सरकारी वकिल कार्यालय दाङले पनि बहुविवाह गरेको आरोपीविरुद्ध मुद्दा नचलाउने निणर्य गरेको थियो ।

यस बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उच्च सरकार वकिल कार्यालयले जिल्ला सरकारीको निणर्य उल्ट्याउदै घटना अनुसन्धान गरेर मुद्धा दर्ता गर्न निर्देशन दिएको थियो ।

प्रहरीले वहु विवाहको आरोपी छोरालाई उपस्थित नगराएपछि पौडेलका बावु केशव पौडेललाई मुद्धा चलाउन खोजेको थियो । बावुलाई मुद्धा चलाउन इन्कार गरेपछि सरकारी वकिल कार्यालयका घोराहीका प्रमुखले छोरालाई फरार सुचिमा राखेर कारवाही अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३ गते बिहिवार