दाङ, २ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा रहेको छिल्लिकोटमा सामुदायिक स्वास्थ्य इकाइ भवनको शिलान्यास गरिएको छ । भवनको वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले शिलान्यास गर्नुभएको हो ।
स्वास्थ्य भवनको कुल अनुमानित लागत ६५ लाख रहेको छ । तर चालु वर्षमा लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित २० लाखमा काम सुरुवात गरिएकोे वडा अध्यक्ष योगीले बताउनुभयो ।
भवन निर्माणका लागि अपुग रकम वडा र नगरबाट आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर काम सम्पन्न गरिने उहाँले बताउनुभयोे ।
भवनको स्तरोन्नती संगै बर्थिङ सेन्टर सञ्चालनका लागि समेत पहल गरिने वडा अध्यक्ष योगीले बताउनुभयो । छिल्लिकोटमा स्वास्थ्य, शिक्षा र शान्ति सुरक्षा पहिलो प्राथमिकतामा राखेर काम भैरहेको अध्यक्ष योगीले बताउनुभयो ।
सुविधा सम्पन्न शौचालय सहित अपाङ्गमैत्री भवन निर्माण गर्न लागिएको वडा सदस्य राम बहादुर पौडेलले जानकारी दिनुभयो । स्थानीयको श्रमदानसहित २०५४ सालमा स्थापना भएको उपस्वास्थ्य चौकी अहिले सामुदायिक स्वास्थ्य इकाईका रुपमा संचालित छ ।
तुलसीपुर बजारबाट करिव २१ किलोमिटरको दुरीमा रहेको विकट वस्तीमा स्थापना भएको सामुदायीक स्वास्थ्य इकाईमा रोल्पाबाट समेत स्वास्थ्य सेवा लिन आउने गरेको इकाई प्रमुख राजवन्धु नेपालीले जानकारी दिनुभयो ।
भवन निर्माण समितिका अध्यक्ष टोपेन्द्र वलीको अध्यक्षता तथा वडा अध्यक्ष प्रेमनाथ योगीको प्रमुख आतिथ्यतामा भवनको शिलन्यास गरिएको हो ।
कार्यक्रममा जग्गादाता नर बहादुर वली, छिल्लिकोट मन्दिर व्यवस्थापन समितिका अध्यक्ष परविर पुन , छिल्लिकोट टोल विकास संस्थाका अध्यक्ष पहल बहादुर खड्का,नेकपा एमाले १९ नम्बर वडा समिति अध्यक्ष लोकबहादुर रोका, नेकपा माओवादी तुलसीपुर नगर समिति सदस्य पूर्णबहादुर पुनले २७ वष पछि निर्माण हुन लागेको स्वास्थ्य भवनले आफुहरु खुशी भएको बताउनुभयो । कार्यक्रमको सहजिकरण भवन निर्माण समितिका सचिव कमल वलीले गर्नुभएको हो ।