२०८१ जेष्ठ ३१ गते बिहिवार

विकट क्षेत्रका महिलालाई स्वास्थ्य सेवा लिनै सकस : घरमै सुत्केरी हुनुपर्ने बाध्यता



दाङ, ५ जेठ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ छिल्लिकोटको पैँयाटाकाकुराका निमा विकलाई गवत बैशाख ४ गते चैतेदशैको दिन चाड मनाउने तयारी भैरहेका बेला सुत्केरी व्यथा। लाग्यो । उहाँको गाँउ छिल्लिकोट माथिको डाँडो पैँयाटाकाकुरामा पर्छ ।

प्रसव पिडामा रहेकी निमालाई अस्पताल लैजान परिवारले अटो चालकलाई खबर गरेका थिए । अटो घरसम्म पुग्न केहीबेर समय लाग्ने भयो तर अटो नपुग्दै निमा घरमै सुत्केरी हुनुभयो । पहिलो सन्तान जन्मदा पनि उहाँ घरमै सुत्केरी हुनुभएको थियो ।

चालु वर्षमा निमा घरमै सुत्केरी हुने प्रतिनिधि पात्र भएपनि यो त्यस क्षेत्रका आमाहरुलाई यो साझा समस्या र वेदना हो । सुत्केरी हुने समयमा आमाहरु असुरक्षित भएको महशुस गर्ने हुँदा केही महिलाहरु भने सोे समयमा भरपर्दो स्वास्थ्य सेवा सुगम क्षेत्रमा सजिलै लिन सकिने ठानेर तल्लो बस्तीमा समेत अस्थायी रुपमा बसाई सर्ने गरेका छन् ।

जहाँबाट समस्या भएका बेला जुनसुकै समयमा सुरक्षित रुपमा प्रसुती सेवा लिन सुविधायुक्त स्वास्थ्य संस्थामा चाँडै पुग्न सकिन्छ ।

भौगोलिक विकटताले सडक पूर्वाधारको समेत असहजता छ । उसै पनि नजिकमा वर्थिङ सेन्टरसहितको स्वास्थ्य संस्था छैनन् । सामुदायिक स्वास्थ्य इकाई छ तर सामान्य जाँच गर्नलाई अनमी पनि नियमित भेट्न सकिदैन ।

त्यहाँ तालिम प्राप्त सुत्केरी गराउन सक्ने स्वास्थ्यकर्मी पनि छैनन् । भनेकै समयमा सवारी साधन पर्याप्त भेटिदैनन् । विकटमा एम्बुलेन्सको सेवा दिने यातायातको भरपर्दो साधन बनेको छ अटो सेवा ।

वर्षा सुरुभएपछि भने कच्ची सडकमा गाडी चल्न सक्ने अवस्था हुँदैन । बर्खे याममा सड्कको अवस्था जिणर् हुने हुँदा अझ धेरै समस्या हुने गरेको स्थानीय बताउछन् ।

सामुदायिक स्वास्थ्य इकाईमा कार्यरत अनमीको विगत दुई महिनाअघि सरुवा भएपछि गर्भवति जाँच सेवामा समेत समस्या भएको छ । महिलाहरुले पुरुष स्वास्थ्यकर्मी संग खुलेर आफ्ना समस्या राख्न नसक्ने भएका कारण झनै समस्या थपिएको हो ।

छिल्लिकोटमा रहेको सामुदायिक स्वास्थ्य इकाईमा नियमित अनमिको व्यवस्थापन नहुँदा करिब ३ घण्टाको बाटो पैदल हिँडेर तोप्पापानीमा गर्भवती आमाहरु स्वास्थ्य जाँच गराउन पुग्ने गरेका छन् भने कोही अटो चढेर राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा पुग्ने गर्छन् ।

नियमित गर्भवती जाँच नजिकैको स्वास्थ्य संस्थामा उपलव्ध नहुँदा महिलाहरुले धेरै समस्या भोग्नु परिरहेको स्वास्थ्य स्वयमसेविका धना वली बताउनुहुन्छ ।

सरकारको निति घरमा होइन स्वास्थ्य संस्थामै गएर सुरक्षित प्रसुती गराउनुपर्ने छ । तर छिल्लिकोटमा भने हरेक वर्ष औषतमा एक जना घरमै सुत्केरी हुने गरेको सामुदायिक स्वास्थ्य इकाईका प्रमुख राजवन्धु नेपालीले बताउनुभयो ।

इकाईमा एक जना अहेव,एक जना अनमी र एक जना कार्यालय सहयोगीसहित तीन जनाको दरबन्दी छ । पारामेडिक्सहरु नियमित भएपनि नर्सिङ सुबिधा नियमित हुन सकेको छैन् । विकट क्षेत्र रहेकाले अनमीहरु लामो समयसम्म नबसी सरुवा मिलाउने गरेका छन् । इकाईबाट अनमी सरुवा भएको दुई महिना भइसकेको छ । छिल्लिकोटको हकमा वर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी सरह तालिम प्राप्त स्वास्थ्यकर्मीको व्यवस्था मात्रै गर्नसकेपनि प्रसुति सेवामा सहजता हुने इकाई प्रमुख नेपालीले बताउनुभयो ।

२०५४ सालमा स्थापना भएको भवन करिव २५ वर्ष सम्म एक साँघुरो कोठाबाट मात्र सञ्चालन भएको थियो । गत आर्थिक वर्षमा वडाबाट बिनियोजित एक लाख बजेटबाट थप एक कोठा निर्माण भएपछि अहिले सेवा प्रवाहमा केहि सहजता भएको छ । जुन पर्याप्त भने छैन् ।

इकाई प्रमुख नेपालीका अनुसार संस्थामा छिल्लिकोटका स्थानीय संगै छिमेकी जिल्ला रोल्पाको गोदे,रिचे,विश्रामथली र मुनारेसहित चार गाँउका स्थानीयले सेवा लिदै आएका छन् ।

विकट क्षेत्र भएकाले स्थानीय पालिका एवम् सम्बन्धीत निकायसंग समन्वय गरेर क्षयरोग र कुष्ठरोगका बिरामीहरुलाई समेत सेवा दिने गरेको प्रमुख नेपालीले बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेका अनुसार छिल्लिकोटमा अनमी नहुँदा स्थानीयले समस्या पाएको जानकारी पाएपछि एक जना अनमिको व्यवस्था गरिएको थियो । तर इकाईमा कार्यरत अनमीको सरुवा भएपछि तत्कालै व्यवस्थापन गर्न नसकिएको बताउनुभयो ।

थानीयको माग जायज रहेको भन्दै अबको केही दिनमै नयाँ अनमी पठाईने बताउनुभयो । घरमै सुत्केरी हुने गरेको तथ्याङ्क भने आफुलाई कुनै जानकारी नभएको प्रमुख न्यौपानेले बताउनुभयो ।

स्थानीयको समस्या समाधानका लागि सामुदायिक स्वास्थ्य इकाईको भवन निर्माण संगै बर्थिङ सेन्टर सञ्चालनका लागि समेत पहल गरिने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ का अध्यक्ष प्रेमनाथ योगीले बताउनुभयोे ।

सुविधा सम्पन्न शौचालय सहित कुल ६५ लाख लागतको अनुमान गरिएको अपाङ्गमैत्री ४ कोठे पक्की भवनको शिलान्यास भैसकेको छ । चालु वर्षमा लुम्बिनी प्रदेश सरकारबाट बिनियोजित २० लाखबाट काम शुरु भएको हो भने नगर र वडाबाट आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गरेर काम सम्पन्न गर्ने योजना रहेको वडा अध्यक्ष योगीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार