२०८१ मङ्सिर २३ गते आइतवार

नदिजन्य पदार्थ गायब प्रकरण : ‘घाटगद्दी गरिएको कसरी हरायो ? तर नगरले प्रयोग गरेको छैन् ।’-डाँगी (भिडियो सहित)



दाङ, १० जेठ ।
तुलसीपुर उपमहानगरपालिकाको राजश्व व्यवस्थापन शाखाका केशब डाँगीले तुलसीपुरमा ठुलो मात्रामा नदिजन्य पदार्थ गायब भएको बारे आफुलाई कुनै जानकारी नभएको बताउनुभएको छ ।

तुलसीपुरमा ५० हजार घनमिटर नदिजन्य पदार्थ गायब भएकोबारे लेखा समितिले प्रश्न उठाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगञ्जले छानबिन थालेको छ ।

अख्तियारको छानबिनको क्रममा स्रोत साधन समितिको प्रतिवेदनमा उपमहानगरले नै नदिजन्य पदार्थको प्रयोग गरेको भनिएपनि नगरको यान्त्रिक शाखाले स्टक प्रमाणित नगरेको भनेर लिखित बयान दिएको डाँगीले बताउनुभयो ।

‘समितिको प्रतिवेदनमा उपमहानगरपालिकाले नै स्टक गरेको हो, नगरपालिकाले नै प्रयोग गरेको हो भन्ने रहेछ ।’ डाँगीले भन्नुभयो-‘तर त्यो कुरामा मैले असहमति जनाउँदै यान्त्रिक शाखाले गाडी पठाउने काम पनि गरेको छैन् र त्यो हामीले थुपारेको पनि होइन, प्रयोग पनि गरेको छैन् भन्ने जवाफ हस्तलिखित रुपमै दिएको छु ।’

डाँगी यसअघि यान्त्रिक शाखामा कार्यरत रहनुभएको थियो । पछिल्लो समय राजश्व शाखामा आउनुभएको छ । उहाँ यान्त्रिक शाखामै हुँदा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ शितलपुरमा घाटगद्दी गरेर राखिएको ५० हजार घनमिटर नदिजन्य पदार्थ गायब भएको थियो ।

ठुलो मात्राको नदिजन्य पदार्थ गायब भएको खबर बाहिरिएपछि गत बैशाखको अन्तिम सातातिर अख्तियारको टिम तुलसीपुरमा आएको थियो । त्यो बेलामा स्रोत साधन समितिले दुई वटा घाटगद्दी गरिएको र त्यो मध्ये एउटा ठेकेदारले लिएको र अर्को उपमहानगरकै भएको भनेर अख्तियारलाई बयान दिएको थियो । ५० हजार घनमिटर नदिजन्य पदार्थको गायब भएको घटना बाहिरिएपछि अख्तियारले छानबिन थालेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते बिहिवार