दाङ, १३ जेठ ।
आजदेखि पोलियो विरुद्धको आइपिभि खोप अभियान संचालन हुने भएको छ । विसं २०७३ बैशाखदेखि २०७५ साल असोजसम्म नियमित पोलियो खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन थालिएको हो ।
दाङमा ३७ हजार सात सय ५५ बालबालिकालाई पोलियो खोपविरुद्धको ‘आइपीभी’ खोप लगाइने स्वास्थ्य कार्यालय दाङले जनाएको छ । आजदेखि शुरु हुने अभियान २६ सम्म खोप अभियान सञ्चालन हुने भएको छ ।
खोप संयोजक झग्गुप्रसाद आचार्यले पहिलो चरणमा आजदेखि १७ गतेसम्म तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, दङ्गीशरण र बबई गाउँपालिका र दोस्रो चरणमा २२ गतेदेखि २६ गतेसम्म घोराही उपमहानगरपालिका, लमही नगरपालिका, बङ्गलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा खोप सञ्चालन हुने बताउनुभयो ।
स्वास्थ्य कार्यालयका प्रमुख किशोर आचार्यले पोलियोविरुद्ध २०७१ सालदेखि नेपालमा खोप लगाउन सुरु गरिए पनि २०७३ देखि २०७५ सालसम्म खोप उपलब्ध नभएकाले नेपालभरिका बालबालिका खोपबाट वञ्चित भएकाले खोप अभियान सञ्चालन गर्न लागिएको बताउनुभयो ।