२०८१ मङ्सिर २४ गते सोमवार

स्थानिय सरकारमा पनि दलित सवालका कार्यक्रम ओझेलमा



दाङ,१६ जेठ ।

स्थानिय सरकारले दलित समुदायको उत्थानका लागि बनाउने नीति राम्रो भएपनि पुर्णता पाउन नसकेको एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेटमा स्थानीय सरकारले दलितका सवाललाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने दलित महिला संघ दाङले तुलसीपुरमा बुधबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । संघिय सरकारको नीति तथा कार्यक्रमको आधारमा रहेर स्थानिय सरकारले पनि सोहि अनुसार नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्नेमा बक्ताहरुको जोड रहेको छ ।

सहभागि दलित महिला सदस्यहरुले बजेट विनियोजनका लागि वडामा धेरै संघर्ष गर्नुपर्ने अवस्था रहेकाे बताएका थिए । वडा नम्बर ८ का सदस्य मीना नेपालीले निर्वाचित भएको पहिलो वर्ष यो विषयमा आफुलाई कुनै जानकारी नै नभएको बताउनुभयो ।‘उहाँले भन्नुभयो-‘सुरुको वर्ष केही मेसो पाइएन अध्यक्षले भनेवमोजिम नै गरियो । चालु वर्षमा अपांग सुधार केन्द्रलाई १ लाख विनियोजन भएको छ । अर्को पटक भन्दा अध्यक्षले केही भन्नुहुन्छ कि भनेर केही भन्न सकेकी छैन्’ ।

तुलसीपुर-२ का दलित महिला सदस्य माया सुनारले पनि दलित उत्थानका लागि बजेट विनियोजन गर्न समस्या रहेको बताउनुभयो । ‘उहाँले भन्नुभयो-‘दलितको लागि काम गर्नुपर्छ भनेर भनिरहेको छु । यस विषयमा वैठकमा बारम्बार कुरा पनि उठाईरहन्छु तर पूर्वाधार मात्र प्राथमिकतामा रहँदा दलित लक्षित कार्यक्रमलाई अगाडी बढाउन समस्या भएको छ’।पुर्वाधार निर्माणका विषयमात्र विकासका रुपमा हेरिने परिपाटिले दलितका सवाल ओझेलमा परिरहेको उहाँले बताउनुभयो ।

दलितका सवाल दलित जनप्रतिनिधिले मात्र सम्बोधन गर्नुपर्छ भन्ने धारणा त्याग्नुपर्ने कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले बताउनुभयो । ‘नगरमा ८ जना कार्यपालिका सदस्य छौ’-‘उहाँले भन्नुभयो-‘जसमा ६ जनाको दलित समुदायबाट प्रतिनिधित्व छ तर नगरमा भूमिकाविहिन बनाएर राखिएको छ’ ।

वितेकोे आर्थिक वर्षमा वजेट नहुँदा समस्या रहेको थियो । चालु वर्षमा तुलसीपुर उपमहानगरपालिकाले १० लाख रकम बिनियोजन गरेको कार्यपालिका सदस्य विश्वकर्माले बताउनुभयो ।उहाँका अनुसार विनियोजित रकमबाट उपमहानगरका १९ वटै वडाहरुमा बसोवास गर्ने दलितहरूको वडा प्रोफाइल निर्माणको काम सुरु भएको छ । यस्तै दलित सचेतनाका लागि प्रत्यक वडाहरुमा अन्तरक्रिया कार्यक्रम राखीएको समेत उहाँले बताउनुभयो ।

कार्यपालिका सदस्य यमुना परियारले  दलितका सवालमा यथेष्ट मात्रामा बजेट बिनियोजनका लागि अन्तरसंघर्ष निरन्तर गरिरहेको बताउनुभयो ।

छुवाछुतमुक्त वडा घोषणा गरिएको लामो समय भैसक्दा समेत अहिलेपनि दलितको घरमा पाकेको खाना र पानी समेत नखाने घट्ना दुखद रहेको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले बताउनुभयो । स्थानीय सरकारले दलितहरुका लागि सुधारीएको चुलो निर्माण गर्न बोलाईएका गैरदलितहरुबाट तुलसीपुरमा भएको यस्तो अमानविय व्यवहार दुखद रहेको बताउनुभयो ।

दलितहरुका सवालमा स्थानिय सरकारले ल्याउने नीति अत्यन्त राम्रो भएपनि नीति र कार्यक्रम अनुसारको बजेट बिनियोजनमा कन्जुस्याई गर्नु दलित समुदायमाथीको अन्याय भएको बताउनुभयो ।

जनप्रतिनिधि पूर्वाधार विकासमा केन्दि«त भैरहेको अवस्थामा वडाबाट प्रतिनिधित्व गर्ने दलित महिलाहरूको सहभागिता संख्यामामात्र नभई अर्थपुर्ण हुनुपर्नेमा अध्यक्ष कराराले जोड दिनुभयो । आगामी बर्षकाे वजेटमा दलित सवालका कार्यक्रममा अनिवार्य रूपमा समेटिने गरि याेजना बनाउन जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको १९ वटा वडाहरुमध्य चालु वर्षमा ४ वटा वडाहरुकोे मात्र रातो कितावमा दलितहरुको सवालमा बजेट विनियोजन हुनु सोचनिय विषय रहेको उहाँले बताउनुभयो ।

हिँउदे अधिवेशन पछि वडा नम्बर १ र १३ ले रातो कितावमा बजेट विनियोजित नभएपनि थप बजेटकाे व्यवस्था गरेर दलित लक्षित कार्यक्रम गरेका छन् ।वडा मार्फत दलितको सवालमा विनियोजित वजेटको शिर्षकमा समेत अस्पष्टता हुने गरेकाले आगामी दिनमा सुधारेर लैजान अध्यक्ष  कराराले सुझाव दिनुभयो ।

दलीत महिला संघ दाङका कार्यक्रम संयोजक पोषण सेन्चुरीका अनुसार तुलसीपुर उपमहानगरपालिकामा चालु वर्षमा  ४,६,७ र १७ नम्बर  नम्बर वडाले मात्र  दलित समुदाय लक्षीत कार्यक्रमका लागि वजेट विनीयोजन गरेको छ । चालु वर्षमा दलितका लागि बजेट विनियाेजन नगर्ने वडाहरूमा २,३,५,८,९,१०,११,१२,१४,१६ र १८ रहेको संयोजक सेञ्चुरीले बताउनुभयो । वडा नम्बर १ र १३ ले भने रातो कितावमा बजेट विनियोजन नभएपनि थप बजेटबाट कार्यक्रम सम्पन्न भएको जानकारी पाएको उहाँले बताउनुभयो ।
यस्तै बजेट विनीयोजन भएका वडाहरुमा समेत शिर्षकमा अस्पष्टता रहेको पाइएको सेञ्चुरीले बताउनुभयो ।

कार्यक्रममा वडा नम्बर १३ का अध्यक्ष मोहनलाल पौडेलले दलित समुदाय लक्षीत कार्यक्रम रातो कितावमा नभएपनि महिला लक्षित कार्यक्रममा दलित समुदायका महिलाहरुलाई समेट्ने गरेको बताउदै आगामी वर्षको बजेट निर्माणकै चरणमा रहेकाले दलित सवालका लागि बजेट विनीयोजन गर्ने प्रतीवद्धता समेत ब्यक्त गर्नुभयो ।

१ नम्बर वडा अध्यक्ष हुमकान्त सापकोटाले दलित समुदाय भित्र पनि विद्यमान अवस्थामा विभेद कायमै रहेकाले यसको अन्त्यका लागि सोच परिवर्तन गर्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने गरि बजेट बिनियोजन गरिने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

वडा नम्बर २ का वडा अध्यक्ष भिम बहादुर योगिले विभेदरहित समाज निर्माण गर्न, पछौटेपनको अन्त्य गर्न, आर्थीक विभेदका कुरा समायोजन गरेर अगाडि बढ्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष तुलसी थापाले वडामा दलीत वर्गको पेसालाई बचाईराख्न ,संरक्षण गर्न आगामी वर्षहरुमा वजेट विनीयोजन गर्ने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

वडा नम्बर ८ का वडा अध्यक्ष तथा शुसासन समिति संयोजक धर्मराज ओलीले दुई वर्षको कार्यकालमा दलित समुदाय लक्षित कार्यक्रम नराखेपनि वडाका दुई जना दलित समुदायका बालबालबालिकाहरुलाई तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको मेट्रो कलेजमा निशुल्क अध्यापन गराईरहेको बताउनुभयो ।

आगामि वर्षको बजेटमा दलित सवालका विषयहरु समेटिने प्रतीवद्धता ब्यक्त गर्नुभयो ।

वडा नम्बर १२ का वडा अध्यक्ष खुसीराम चौधरी र वडा नम्बर १७ का वडा अध्यक्ष थलराज पुरीले दलित समुदाय लक्षित कार्यक्रम सञ्चालनको तयारी भैरहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १८ का वडा अध्यक्ष माधव वलीले उपमहानगरपालिकाले दलित सुमदायको उत्थानका लागि हरेक वडाका दलित सदस्यहरुसंगको सल्लाह बमोजीम कार्यक्रम गर्दै आएको बताउनुभयो ।

अझ बढि लक्षित कार्यक्रम तयार गर्न दलीत महिला सदस्य सक्रिय भएर काम गर्नुपर्ने उहाँको  सुझाव थियाे ।दलीत महिला संघ दाङका अध्यक्ष युवा कराराको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव गंगा विश्वकर्माले गर्नुभएको थियो ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ १६ गते बुधवार