२०८१ असार ४ गते मङ्गलवार

कपुरकोटमा आजदेखि हाटबजार शुरु



सल्यान, २५ जेठ ।
सल्यानको कपुरकोटमा आजदेखि हाटबजार शुरु भएको छ । किसानले उत्पादन गरेको बेमौसमी तरकारी बिक्रि गर्नका लागि तयारी भएपछि हाटबजार संचालन गरिएको हो ।

आजदेखि शुरु भएको हाटबजारमा सामान्य कारोबार भएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले बताउनुभयो । तरकारीको आधिकारिक मूल्य भने मंगलबार संचालन हुने हाटबजारमा सार्वजनिक गरिने उहाँले बताउनुभयो ।

आज किसान र व्यवसायीको सहमतीमा तरकारीको कारोबार भएको अध्यक्ष शर्माले बताउनुभयो ।

कपुरकोटमा हरके वर्षको जेठदेखि करिब कत्तिक महिनासम्म मंगलबार र शुक्रबार हाटबजार लाग्ने गरेको छ । हाटबजारबाट गतवर्षमात्रै २४ करोडको तरकारी बिक्रि भएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

कपुरकोटमा हाट बजार संचालन भएसंगै कृषि उपज बजार सहायक केन्द्र बगाले र शितलबजार रिममा पनि क्रमश संचालन हुने भएको छ । कपुरकोट गाउँपालिका वडा नम्बर १ र ५ को सिमाना बगालेमा सोमबार र बिहिबार हाटबजार लाग्ने गरेको छ भने शितलबजार सोमबार र शनिबार हाटबजार संचालन हुने अध्यक्ष शर्माले बताउनुभयो ।

वडा कार्यालयमा दर्ता व्यापारीले मात्रै हाटबजारमा कारोबार गरेका छन् । कपुरकोटमा सल्यानसहित छिमेकी जिल्ला रोल्पाका किसानले समेत तरकारी बिक्रि गर्ने गरेका छन् ।

अध्यक्ष शर्माका अनुसार आज टमाटर २२ देखि २७, बन्दा गोपी ३०, काउली ३० देखि ३५, भेडेखुर्सानी ६०देखि ६५, सिमी ५० देखि ५५, लोकल काक्रो ३० र हाइब्रिड काँक्रो २० प्रतिकेजीमा बिक्रि भएको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार