दाङ, ३१ जेठ ।
तुलसीपुर उपमहानगरपालिकाले कार्यालयको पश्चिमतर्फको संरचना हटाउने भएको छ । उपमहानगरपालिकाले कार्यालयको पश्चितर्फ रहेको संकेत होटेलदेखि गेटसम्मको व्यावसायिक सटर भएका संरचना हटाएर पार्किङस्थल बनाउने भएको हो ।
संरचना पनि जिणर् बन्दै गएको र पार्किङस्थलको अभाव भएको हुँदा पश्चिमतर्फका कार्यालयसंगै सटेका व्यावसायिक सटर हटाउन लागेको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो ।
‘सेवाग्राहीलाई पार्किङ गर्न समस्या देखिएकाले नगरको व्यावसायिक सटर हटाउन लागेका छौँ ।’ उहाँले भन्नुभयो-‘असारभित्र सटर खालि हुन्छ, साउनदेखि नगरले संरचना भत्काएर पार्किङस्थल निर्माण गर्ने छ ।’
उहाँका अनुसार उपमहानगरपालिकाले असार मसान्तभित्र आफुले प्रयोग गरेको सटर कोठाहरु खालि गर्न अनुरोध समेत गरेको छ । असार मसान्तभित्र सटर खालि नभए संरचना भत्काउँदा हुने क्षति व्यवसायी स्वयंले बेहोर्नुपर्ने नगरप्रमुख खड्काले बताउनुभयो ।
सटर खालि गर्दा आफुले प्रयोग गरेको अवधिभरको सटर कोठाको भाडा बक्यौता बुझाउन उपमहानगरपालिकाले अनुरोध समेत गरेको छ । उपमहानगरपालिकाको कार्यालयको पश्चितर्फ नगरकै नाममा दर्ता श्रेष्ता भएको तुलसीपुर ५ घ कि. न. नम्बर ८१२ को ज. बि. ०-१०-० जग्गामा नगरकै व्यावसायीक सटर छन् ।