२०८२ बैशाख ३१ गते बुधवार

यसरी गरियाे दाङमा कम्युनिस्ट नेता श्रीमणी आचार्यको शालिक अनावरण(तस्बिर सहित)



तस्बिर :झग्गु भण्डारी

दाङ, ८ असार ।

दंगाली कम्युनिस्ट नेता स्व. श्रीमणी आचार्यको शालिक अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडा स्थित निर्माण स्थापना गरिएको आचार्यको शालिक शनिबार अनावरण गरिएको हो ।

आचार्यको शालिक लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको हो ।

नेकपा एमालको महासचिव समेत रहेका प्रथम मूख्यमन्त्री पोखरेलले स्वर्गिय आचार्यले शैक्षिक तथा बाम आन्दोलनमा खेलेको भूमिका अतुलनिय भएको बताउनुभयो । उहाँले स्वर्गिय आचार्यले राजनैतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले टरिगाउँ एयरपोर्टको बारेमा बाहिर गरिने टिकाटिप्पणीको खण्डन समेत गर्नुभयो । उहाँले शंकर पोखरेलकै कारण टरिगाउँ एयरपोर्ट बन्न नसकेको भनेर प्रचार गरिएकोप्रति दुख व्यक्त गर्नुभयो ।

उहाँले आफुले केपि ओली प्रधानमन्त्री हुँदा नै टरिगाउँ विमानस्थलका लागि बजेट छुट्याउन लगाएको बताउनुभयो । बजेट बिनियोजन सरकार छोटो समयमै विघटन हुँदा बजेट कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले टरिगाउँ विमानस्थलको विकल्प खोज्न नहुने बताउनुभयो । उहाँले उत्तर-दक्षिणको धावनमार्ग भएपनि विमानस्थल नियमित हवाई उडान हुने गरी संचालन ल्याउन सकिने बताउनुभयो ।

उहाँले घोराही-तुलसीपुर सडक चारलेनकै निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो । कतै टु लेन, कतै चार लेन वैज्ञानिक नभएकाले घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्म चार लेन नै निर्माण हुने गरी टेन्डरको तयारी रहेको बताउनुभयो।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिपक गिरीले स्वर्गिय आचार्यलाई राजनैतिक भन्दा पनि सामाजिक व्यक्तित्वको रुपमा धेरैले चिन्ने बताउनुभयो । उहाँले तुलसीपुर र समग्र दाङको विकासका लागि सबैले साझा संकल्प गर्नुपर्ने बताउनुभयो ।

 यस्तै निवर्तमान लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले स्वर्गिय आचार्य र आफ्नो राजनैतिक विचार फरक भएपनि संगै मिलेर काम गरेको स्मरण गर्नुभयो ।  कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे लगायतले दाङको विकासका लागि साझा धारणा बन्नुपर्ने बताउनुभयो ।

 शलिक निर्माण समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षतामा शालिक अनावरण कार्यक्रम भएको हो ।  २०५१ सालमा मध्यावधि निर्वाचनको प्रचार प्रसारको क्रममा दाङको बिजौरीमा भएको गोलिकाण्डमा गोली लागेका आचार्यको क्यान्सर रोगका कारण २०६४ साल पुसको ३ गतेका दिन निधन भएको हो ।

स्वर्गिय आचार्यको योगदानलाई सम्मान गरी वडा नम्बर ११ को पहलमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा शालिक निर्माण गरिएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । शालिक निर्माण गरिएको परिसरलाई पार्क निर्माण गरी पर्यटकिय स्थलका रुपमा विकास गर्न वडाले पहल गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ८ गते शनिवार