
तुलसीपुर,१५ असार ।
कुमाल समुदायले माटोका भाडा बनाउन प्रयोग गर्ने माटो पाइने ठाउँ स्थानीयको अतिक्रमणमा परेकाे छ । तुलसीपुर-७ कुमालगाउँका कुमाले समुदायका व्यक्तिहरूले मटेरा गाउँबाट माटो ल्याएर भाँडा बनाउने गरेका थिए।
माटो ल्याउने ठाँउ स्थानीयको अतिक्रमणमा परेपछि पुर्खौंदेखिको पेशा संकटमा पर्न थालेको महसुस गरेका कुमाल समुदायका अगुवाहरुले केही दिनअघि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्कालाई भेटेर समस्या समाधानका लागि आग्रह गरेका थिए ।
उनीहरूको आग्रहपछि तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का,तुलसीपुर ७ का वडा अध्यक्ष रामबहादुर जिसी,प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगी,पत्रकार लगायतको टोलीले शुक्रबार कुमाल समुदायले माटाे खन्ने गरेकाे स्थान मटेराको स्थलगत अनुगमन गरेको हो।
पुर्खौंदेखि बाउबाजेले गर्दै आएको पेशा विस्थापित हुन थालेपछि चिन्तित बनेका कुमाल समुदायले पेशाकाे रक्षा गरिदिन आग्रह गरेपछि स्थानीय सरकारको तर्फबाट सहजिकरणका प्रयास थालेकाे नगर प्रमुख खडकाले बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले स्थानीयको समस्या समाधानका लागि स्थानीय सरकार गम्भीर रहेको बताउनुभयो। उहाँले तत्कालका लागि जग्गाको पहिचान गरी कुमाल समुदायका लागि माटाे उत्खनन हुने क्षेत्रमा तारबार गरेर समेत संरक्षण गर्न सकिने बताउनुभयो ।
कुमाल समुदायका व्यक्तिहरुले माटो खन्ने स्थान मटेरामा चालू वर्षमा मटेरादेखि नमुना टोल जोड्ने बाटोको ट्रयाक खोलिएको छ। बाँकि जग्गा पहिलेदेखिनै किनबेच हुँदै आएकाे छ ।
भएको जग्गा स्थानीयले अतिक्रमण गरेको र बाँकी रहेको जग्गामा समेत स्थानीयले बाटोको ट्रयाक निर्माण गरेर आफ्नो पेशालाई संकटमा पार्न खोजेको कुमाल समुदायको आरोप छ। तर स्थानीय बुद्धिबहादुर बस्नेतले भने त्यसो नभएको बताउनुभयो।
उहाँले भन्नुभयो- ´अहिले ५२ वर्ष पछि हामीले बाटोको ट्रयाक निर्माण गरेका छौं, बाटो खन्नु भएन माटो लैजाने कुरामा हाम्रो कुनै अवरोध छैन,जसकाे समन्वय पालिकाले गर्नुपर्छ`। विगतमा सो क्षेत्रबाट कुमाल समुदायका व्यक्तिहरूले माटोको भाडा बनाउन माटो लैजाने गरेपनि विगत १० वर्षदेखि प्रयोग नगरेकाे उहाँले बताउनुभयाे ।