
तुलसीपुर, १७ असार ।
तुलसीपुरमा होमस्टे सञ्चालनमा आएको चार वर्ष पूरा भएको छ । ग्रामिण पर्यटन पूर्वाधारको दिगो विकास, स्थानीय कला, संस्कृतिको विकास, स्थानीय श्रोत साधन, सिप एवं उत्पादनको प्रबर्द्धन, ग्रामीण पर्यटन तथा पर्यटन उद्यमशीलताको माध्यमबाट समुदायका सिमान्तकृत एवं विपन्न जनताहरुलाई होमस्टे कार्यक्रममा समेटेर तुलसीपुर उपमहानगरपालिकाले हामेस्टे व्यवस्थापन तथा संचालन कार्यविधि, २०७६ जारी गरी लागु गरेपछि तुलसीपुरमा ६ वटा हामस्टेहरू दर्ता भएर सञ्चालनमा आएका थिए ।
गएको शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगी, पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल सहित पत्रकारको टोली अनुगमनका लागि तुलसीपुर-८ बटोलपुरमा रहेको बटोलपुर सामुदायिक होमस्टेमा पुग्दा होमस्टेको पहिचान गर्न हम्मेहम्मे भयो ।
न कुनै घरमा होमस्टेको बोर्ड राखिएको थियो । होमस्टे सञ्चालनका लागि पालिकाले त्यति धेरै लगानी गरेको छैन । इकाई नम्बर २ मा पालिकाबाट अनुगमनमा गएको टोलिले होमस्टेमा बास बस्नका लागि सुबिधाको बारेमा चासो देखाएपछि सुरूमा देउकुमारी चौधरी अलि आत्तिएको जस्तो देखिनुभएको थियो । प्रमुख प्रसाशकीय अधिकृत डाँगिले दोहोर्याएर खै पालिकाले दिएका सामाग्री कस्तो अवस्थामा छन् हेरौन भनेपछि देउकुमारीले सुरूमा आफ्नै कोठाको विस्तारा देखाउन पुग्नुभयो ।
तर पत्रकारलाई विश्वास नलागेपछि कतै आफ्नै बिस्तारा त देखाइरहनु भएको छैन भनेर सोध्दा अर्को कोठामा लगेर दुईवटा सिरानी देखाउनुभयो ।
सुरूवाति चरणमा सबै होमस्टेहरूमा पाँच सेट ओढ्ना र विस्तारा तुलसीपुर उपमहानगरपालिकाले सहयोग गरिएको थियो । धेरै बेरपछिको सकसपछि देउकुमारीले वास्तविक कुरा खुलाउनुभयो । होमस्टेमा चार महिना यता पाहुना आएका रहेनछन् । उहाँले भन्नुभयो-‘अहिले हामी घरका परिवार मात्रै बस्दै आएका छौं, मुसाको डेरा हुन थाल्यो, पाहुना आउन छोडेपछि पालिकाले दिएका सिरक डसनाहरू कुटुरो पारेर गोदाम कोठामा थैलामा राखेकी छु ।’
होमस्टे सञ्चालन भएका ठाउँमा विभिन्न एकाइहरू निर्माण गरिएको हुन्छ । बटोलपुरमा पाँचवटा इकाइहरू रहेका छन् । होमस्टे व्यवस्थापन तथा संचालन गर्न बनेको व्यवस्थापन समिति अन्तर्गत रहेका इकाइहरुमा प्रत्येक घरहरूको नम्बरिङ गर्नुपनेहुन्छ, तर पालिकाले दिएका वोर्ड कतैपनि टाँगिएको छैन । बटोलपुर होमस्टेका कार्यवाहक अध्यक्ष महेन्द्र चौधरीले आवश्यक प्रचारप्रसार र स्थानीय तहले कुनै चासो नदेखाउँदा सञ्चालनका लागि समस्या रहेको बताउनुभयो । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई बास बसाउन छुट्टै भवनको व्यवस्थापन गर्न नसक्दा समस्या भएको छ । उहाँका अनुसार गएको माघ महिनादेखि अहिले पाहुना आउन छोडेका छन् । जहाँ महिला ढकिया समूह पनि रहेको छ ।
तुलसीपुर-७ प्रसेनी नजिकै कुमालगाउँमा रहेको कुमालगाउँ सामुदायिक होमस्टेको अवस्था पनि उस्तै लथालिङ्ग छ । कुमालगाँउको इतिहास संगै संस्कृति र संस्कारको जानकारी, कुमाल समुदायको खानपान, भेषभुषा लगाएतका विषयमा जानकारी र मनोरञ्जन प्रदान गरी आन्तरिक तथा वाह्य पर्यटकमार्फत पर्यटन प्रबर्द्धन गर्न सकिने अठोटका साथ स्थानीयको सक्रियतामा होमस्टे सञ्चालनमा आएको थियो । तर दुई वर्ष यता होमस्टेका कुनैपनि इकाई सञ्चालनमा छैनन्।
पालिकाले उपलब्ध गराएका सूचना बोर्डहरू पनि होमस्टेका इकाईहरूमा टाँगिएका छैनन् । ईकाइ नम्बर १ का आइताराम कुमालले दुई बर्षदेखि होमस्टे बन्द अवस्थामा रहेको बताउनुभयो । सुरूमा पाहुनाको चहलपहल थियो । उहाँले भन्नुभयो-‘ सबैको मन एउटै नहुँदो रहेछ समाजको एकता भएन हामीलेपनि बन्द गरेका छौं ।’ पाहुनाहरूले अर्डर गरेमा लोकल भाले, सिन्की, दालरोटी लगायतका परिकारहरु बनाएर कुमालगाउँ होमस्टेमा खुवाउने र कुमाल समुदायकाे माटाेकाे भाडा बनाउने कलाकाे समेत अवलाेकन गर्न सकिने व्यवस्था थियो, तर पाहुना आउन छोडेपछि आर्थिक आम्दानीसँगै चहलपहल पनि घटेको उहाँले बताउनुभयो ।
तुलसीपुर- ७ मै रहेको राप्ती शान्ति सामुदायिक होमस्टे पनि एक वर्षदेखि पुणर् रूपमा बन्द अवस्थामा रहेको उपाध्यक्ष डुन्डमान पराजुलीले बताउनुभयो । होमस्टेमा रहेका ११ वटा ईकाइ एक वर्षदेखि चलेका छैनन् । होमस्टेमा युवा देखि पाको पुस्ता आउने गरेका थिए । उनिहरू रमाइलो गर्न खोज्छन तर व्यवस्थित गर्न सकिएको छैन । उहाँले भन्नुभयो-‘परिवार र आउने पाहुनाहरू एउटै घरमा हुँदा पारिवारिक रूपमा समस्या हुने रहेछ ।’ सोचे अनुसार नभएपछि अहिले सामान थन्क्याएर राखिएको उपाध्यक्ष पराजुलिले बताउनुभयो ।
तुल्सीपुर-३ राम्रीमा रहेको ओम भैरव सामुदायिक होमस्टेको अवस्था भने पर्यटन प्रबर्द्धनका लागि केही आश लाग्दो देखिएको छ । यहाँ ५ वटा इकाई रहेको छ । सम्पुणर् इकाइ पुर्ण रूपमा नचलेपनि होमस्टेमा पुग्ने पाहुनाहरूका लागि खानपान र बासको व्यवस्थापन राम्रो रहेको पाईएको छ । सिस्नो र ढिडो, टिम्मुरको अचार, लोकल कुखुराको परिकार अर्डर अनुसार खुवाउदै आएको होमस्टे सञ्चालक विमला रानाले बताउनुभयो ।
पर्यटकको चहलपहल बढाउन नाँचघर समेत निर्माण गरिएको छ । गोलाकार रूपमा निर्मित नाँचघरमा त्यहाँ पुग्ने अतिथिहरूलाई सोरठि नृत्य अवलोकन गराउने गरिएको अध्यक्ष लाल बहादुर पुनले बताउनुभयो ।
भौगोलिक रूपमा पालिकाको उच्च स्थानमा रहेको सो ठाउँ धामा गाउँका रूपमा परिचित छ । गर्मीयाममा सितलता खोज्दै पर्यटकहरु पुग्ने गर्दछन् । होमस्टेमा लुम्बिनी प्रदेश सरकारबाट भेषभुषाको सामान खरिद गर्न १ लाख ५० हजार रुपैंया प्राप्त भएको थियो । तर सो रकम शिर्षक अनुसार काम नगरी निर्माणाधीन नाँच घरमै प्रयोग गरिएको छ । विधि र प्रक्रियामा केही समस्या रहेपनि समग्रतामा होमस्टे सञ्चालनको उत्साह भने त्यस क्षेत्रका स्थानीयमा छ ।
तुलसीपुर-१९ सिलिकोटमा रहेको मल्लागिरी सामुदायिक होमस्टेमा अन्य होमस्टेका तुलनामा चहलपहल अलि बढी नै देखिन्छ । हरेक वर्षको कार्तिक महिनादेखि जेठ महिनासम्म आन्तरिक तथा बाह्य पर्यटकहरूको त्यहाँ घुइँचो लाग्ने गरेको पाइएको छ । होमस्टेका ११ वटा एकाइ रहेका छन् । जसमध्ये १,२ र ४ मा अन्य ईकाइको तुलनामा धेरै पर्यटकहरू पुग्ने गरेको समितिका अध्यक्ष परवीर पुनले बताउनुभयो । सबै इकाइहरूमा उपमहानगरपालिकाबाट पठाइएका बोर्डहरू लहरै टाँगिएका छन् । कतै घरमा राखिएको छ भने कतै कटेज निर्माण गरिएको छ ।
पाहुनाहरूलाई रमाइलोका लागि मादल, सारङ्गी, बाँसुरीलगायतका बाद्यवादक सामग्रीहरूको व्यवस्था गरिएको छ । खानपिनका लागि मकैको ढिडो, सिस्नु, कोदो र फापरको रोटी, मह, मकैका खाजा, लोकल कुखुराका परिकारलगायतका अन्य अर्गानिक कुराहरु खान पाइन्छ । बास बस्नका लागि ७० जना सम्म पर्यटकको व्यबस्थापन गर्न सकिने उहाँले बताउनुभयो ।
होमस्टेलाई प्रभावकारी बनाउन कोशेली घरको आवश्यकता रहेको अध्यक्ष पुनले बताउनुभयो । आवश्यक प्रचारप्रसार, सुविधायुक्त शौचालय र कला संस्कृति प्रदर्शनीका लागि सांस्कृतिक घर निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटनको चहलफल अझै बढ्ने उहाँको दाबी छ ।
होमस्टे सञ्चालनका लागि स्थानीयको सक्रियता रहेपनि आवश्यक स्रोत साधनको अभाव रहँदा सञ्चालनमा समस्या आएको अध्यक्ष पुनले बताउनुभयो । अनुदान नभएपनि पालिकाले सहुलियत दरमा ऋण उपलब्ध गराउँदा सहजता हुने उहाँको भनाइ छ । तुलसीपुर उपमहानगरपालिकाले बनाएको होमस्टे सञ्चालन कार्यविधि अनुसार होमस्टे व्यवस्थापन तथा संचालन गरी पर्यटन क्षेत्रको प्रतिफल ग्रामीण समुदायमा पुर्याइ ग्रामिण क्षेत्रका जनतालाई पर्यटन सेवामा सहभागि गराउने, आयश्रोत बद्धि गरी जीवनस्तर वृद्धि गर्ने,स्थानीय स्तरमा स्वरोजगार सिर्जना गर्ने,ग्रामीण जनजीवन साथै संस्कृतिका बारेमा जानकारी दिई कला, संस्कृतिको जगेर्ना गर्ने उल्लेख गरिएको छ ।
होमस्टेहरू उदेश्य अनुसार सञ्चालनमा रहे नरहेका जानकारीका लागि स्थलगत अनुगमन गरिएको पर्यटन शाखा प्रमुख झरेन्द्र खरेलले बताउनुभयो । अनुगमन लगत्तै होमस्टे सञ्चालन गर्न इच्छुक तर विविध कारणहरूले समस्यामा रहेका होमस्टेहरूको पहिचान गरेर पुनः पालिकाको तर्फबाट पर्यटन प्रवर्द्धनका लागि योजना बनाइने खरेलले बताउनुभयो । पर्यटकलाई आवास, खाना र अन्य सेवा प्रदान गर्ने उद्देश्यले आफनै घर समुदायमा निजी वा सामूहिक रुपमा सञ्चालन गरिएको सेवा भएकाले संरक्षण र अनुगमन गर्नु पालिकाको दायित्व रहेको खरेलले बताउनुभयो ।
होमस्टे सञ्चालन कार्यविधि २०७६ मा व्यवस्था भएका उद्देश्य अनुसार अघि बढ्न नसक्दा छोटो समयमै पालिका भित्रका होमस्टेहरू बन्द भएको तुलसीपुर उपमहानगरपालिकाका प्रमुख नगर प्रमुख टिकाराम खड्काले बताउनुभयो । होमस्टेहरूमा पर्यटकको चहलपहल बढाउन आगामि दिनमा आवश्यक कदम थालिने उहाँले बताउनुभयो । तर सञ्चालित होमस्टेहरूले आफ्नो ब्रान्डको पहिचान गर्न नसक्दा समस्या भएको उहाँको भनाई छ ।
हरेक होमस्टेमा पाहुना पुग्दा खुवाईने परिकार र संस्कृति वा नयाँपनका बारेमा सबै होमस्टेहरूले आ-आफ्नो क्षेत्र अनुसारको ब्रान्डिङ गर्नुपर्ने बताउनुभयो । ‘शहरी क्षेत्रमा पाइने परिकार नै गाँउमा रहेका होमस्टेमा राखेर पर्यटन प्रबर्द्धन हुँदैन ।’ उहाँले भन्नुभयो-‘होमस्टेको मूल मर्म सञ्चालकहरूले बुझ्न नस्कदा समस्या भएको देखिन्छ, पालिकाको तर्फबाट आवश्यक बजेटको व्यवस्थापन गरेर उहाँहरूलाई अभिमुखिकरण गर्छौं ।’