
तुलसीपुर, २६ असार ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा दुना टपरी उद्योग सञ्चालनमा आएको छ । तुलसीपुर १३ को दमागाँउमा आज (बुधबार) देखि उद्योग सञ्चालनमा आएको वडाले जनाएको हो ।
उद्योग सञ्चालनका लागि तीन लाख २६ हजारको लागतमा मेसिन खरिद गरिएको छ । मेसिन खरिदमा बतास फाउण्डेसनकोे दुई लाख २६ हजार, महिला समूहको एक लाख रुपैंया रहेको छ । उद्योग सञ्चालनको लागि वडाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ५० हजार रुपैंया बजेट विनियोजन गरेको वडा अध्यक्ष मोहनलाल पौडेलले बताउनुभयो ।
वनजङगलमा खेर गइरहेको पातलाई प्रयोगमा ल्याएर महिला दिदिबहीनीहरुलाई उद्यमसंग जोडेको अध्यक्ष पौडेलले बताउनुभयो । दुनाटपरी उद्योगमा २४ जना महिलाहरु आबद्ध रहेको छन् । दुना टपरीको लागि १३ नम्बर वडामा प्रसस्त रुपमा कच्चा पदार्थ रहेकोले उद्योग सञ्चालनमा सहयोग पुग्ने पौडेलको भनाई छ ।
उद्योगमा दैनिक रुपमा पाँच सयसम्म दुना टपरी उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । उत्पादन भएको सामाग्री दाङका बजारमा पुर्याइने भएको छ । बजारमा रहेको चार्ट पस, पूजा पसल, वडाको क्यान्टीन लगाएत वडामा हुने विभिन्न कार्याक्रममा प्रयोगमा ल्याइने वडा अध्यक्ष पौडेलले बताउनुभयो ।
यसैबिच महिलाहरुलाई आठ दिनको तालिम दिइएको छ । तालिमको आज एक कार्यक्रमको आयोजना गरी समापन गरिएको छ । वडा अध्यक्ष पौडेको अध्यक्षतामा तालिमको समापन भएको हो । वडाको आयोजना तथा युएसएआइडी तयार नेपाल तथा बतास फाउण्डेशनको सहयोगमा महिलाहरुलाई तालिम दिएको हो ।
तालिमको प्रशिक्षण बतास फाउण्डेशनको राष्ट्रिय व्यवस्थापक उद्धव अबस्तीले गर्नु भएको हो । तालिममा तयार नेपालका श्रालाल चौधरी, अनुगमन अधिकृत प्रगति शर्मा रहनुभएको थियो । तालिमको सहजिकरण तुलसीपुर उद्यम विकासका सहजकर्ता बिनु हमालले गर्नुभएको हो ।