
दाङ, २ भदौ ।
दाङको तुलसीपुरमा विभिन्न संघ संस्थाहरुले भूह्यारथानदेखि बाहिनी चोकसम्म पुष्प वृक्षारोपण तथा सरसफाइ गरेका छन्।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको नेतृत्वमा सहयोगी बचत तथा ऋण सहकारी संस्था, नमुना भूह्यारथान संरक्षण समिति, पतञ्जली योग साधना केन्द्र र रुकुमेली महिला समाजको सयुक्त आयोजनामा पुष्प वृक्ष रोपण तथा सरसफाई कार्यक्रम भएको हो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लाल बहादुर केसीको नेतृत्वमा तुलसीपुरको भूह्यारथान क्षेत्र, गोदाम घर क्षेत्र, बिरेन्द्र चोक, बिपि चोक, जेसिज चोक हुँदै बाहिनी चोकसम्म सरसफाइ गरिएको थियो ।
सो क्रममा सहभागीले सडक दायाँबायाँ फालिएका फोहोर टिप्नुका साथै स्थानीयहरुलाई सरसफाईमा प्रोत्साहन गर्ने सन्देश लेखिएका प्लेकार्डसहित जनचेतना जगाउने काम गरेका थिए । सरसफाइ कार्यक्रममा बोल्ने बक्ताहरुले समाजलाई स्वच्छ, सफा र हराभरा बनाउन दायित्व सबैमा हुनुपर्ने भन्दै व्यक्ति सचेत भएमा वातावरण स्वतः सफा हुनसक्ने धारणा राखेका थिए ।
पुष्प वृक्ष रोपण तथा सरसफाई कार्यक्रममा सहभागीहरुलाइ नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले धन्यवाद व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका महासचिव भद्र बहादुर ओलीले गर्नुभएको हो ।