
तुलसीपुर, १८ भदौ ।
तुलसीपुर उपमहानगरपालिका-६ का वडाध्यक्ष दुजमान भण्डारी र वडा सदस्य यमराज केसीलाई ज्यान मार्ने धम्की आएको छ । वडा कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष भण्डारीले भारतीय नम्बरबाट बारम्बार धम्की आएको बताउनुभयो । उहाँले सडक निर्माणका क्रममा भएको सामान्य विवादलाई लिएर तुलसीपुरका इलिजा डाँगी वली र उहाँका श्रीमान जागेश्वर वलीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरी ज्यान मार्ने धम्की दिएको बताउनुभयो ।
तुलसीपुर-को गौरवको योजना तरकारी बजारदेखि गाइडहर बनकट्टा कपडादेवि हुँदै राजापुर जोड्ने सडक निर्माणका क्रममा वली दम्पतीको घरको पर्खाल भत्काइएका कारण विवाद उत्पन्न भएको थियो । साउन २९ गते डोजर लगाएर ३ सय उपभोक्ता सहितको उपस्थितिमा वलीले सडक मिचेर बनाएको पर्खाल भत्काइएको अध्यक्ष भण्डारीले बताउनुभयो ।
त्यसपछि साउन ३० गतेदेखि भारतिय नम्बरबाट बारम्बार ज्यान मार्ने धम्कीको फोन आएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो । उहाँले वली दम्पतीले भारतीय आपराधिक गिरोहलाई प्रयोग गरेर ज्यान मार्ने धम्की दिन लगाइएको आरोप लगाउनुभएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले प्रहरीले चासो नदिएको बताउनुभयो । आरोपीत व्यक्तिलाई नियन्त्रनमा लिनको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरमा जानकारी गराए पनि कुनै वास्ता नगरेको उहाँले गुनासो गर्नुभयो । प्रहरीले अभियुक्तलाई बोलाएर सामान्य छलफल समेत नगरेकोले यो घटनाले प्रहरी कुनै दबाब वा आर्थिक प्रभावमा छ भन्ने प्रमाणित गरेको अध्यक्ष भण्डारीको भनाई छ ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रवक्ता माधव वलीले जनप्रतिनिले ज्यानको सुरक्षा गरी पाउभन्दा पनि प्रहरी मौन बस्नु आश्चर्य चकित परेको बताउनुभयो । प्रहरी कसैको दबाब र प्रभावमा नपरी आरोपितलाई पक्राउ गरी अनुशन्धान अगाडी बढाउनुपर्ने नगर प्रवक्ता वलीले बताउनुभयो ।
यो विषयमा बुझ्नको लागि इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोख्रेललाई फोन गरेर बुझ्दा आफु मिटिङमा रहेको प्रतिक्रिया दिनुभयो । वडा नम्बर ६ का जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आएको कुरा के हो भनेर भन्दा उहाँले प्रहरी निरिक्षक प्रकाश थापासंग बुझ्न भन्नुभयो । प्रहरी निरिक्षक थापालाई फोन गरेर सोध्दा यो बारेमा आफुलाई केही जानकारी नभएको कुरा बताउनुभयो । उहाँले साझ डिएपी साप आएपछि हामिले छलफल गछौं अनि के रहेछ भन्ने कुरा थाहा होला भन्नुभयो ।
उता जिल्ला प्रहरी कार्यालय दाङका एसपी राम बहादुर केसीलाई बुझ्दा इलाका प्रहरी कार्यालय तुलसीपुरमा निवेदन आएको होला उतै बुझ्नुस भनेर फोन काट्नुभयो । जनप्रतिनिधिलाई ज्यान मार्ने धम्की आउदा पनि प्रहरीले चसो दिएको छैन । जनप्रतिनिधिले नै सुरक्षा को अनुभूति गर्न पाएका छैनन् भने सर्वसाधारण नागरिकको अबस्था झन कस्तो होला भन्ने कुरा प्रष्ट देखिन्छ ।