२०८१ असोज १८ गते शुक्रवार

एमाले तुलसीपुर अध्यक्षमा कसले मार्ला बाजी ?



दाङ, ४ असोज ।
नेकपा एमाले तुलसीपुर उपमहानगरको दोस्रो अधिवेशनको सरगर्मी बढेको छ । एमाले नगरको आइतबार हुन लागेको अधिवेशनको तयारी तिब्र बनेको हो ।

तीन वर्षे कार्यकालका लागि हुन लागेको अधिवेशनमा अध्यक्षमा दुई जना र सचिवमा ६ जनाको नाम चर्चामा छ । अध्यक्षमा रुपबहादुर खत्री र सुरेश रावत आकंक्षि देखिएका छन् । खत्री हालका नगर सचिव हुनुहुन्छ भने रावत पाटी सचिवालयको पूर्व सदस्य हुनुहन्छ ।

खत्री र रावत दुवै जना एमाले केन्द्रिय सदस्य घनश्याम पाण्डे निकट मानिनुहुन्छ । अध्यक्षमा आकंक्षि देखिएका दुवै जना छोड्ने पक्षमा नरहेको स्रोतले जनाएको छ । जसका लागि गोप्य भेला, छलफल भइरहेको स्रोतले जनाएको छ ।

एमालेको माथिल्लो नेतृत्व भने निर्वाचन नगराएर सर्वसम्मती गर्ने तयारीमा रहेको छ । तर एउटै खेमामा पनि गुट देखिन थालेको एमाले नेताहरुले बताएका छन् ।

यस्तै सचिव पदमा ६ जना आंकाक्षि देखिएका छन् । सचिव पदका लागि दिपक कुमाल, हेमराज डाँगी, मान बहादुर केसी, जीतबहादुर खड्का, सर्जन परियार, खेमराज विश्वकर्माको नाम चर्चामा छ ।

कुमाल नगरमा बस्ने इच्छा देखाएपछि अहिले कुनै पदमा रहनुभएको छैन । उहाँ पाटी सचिवालय पूर्व सदस्य हुनुहुन्छ । नेकपा एकिकृत समाजवादीबाट एमालेमा प्रवेश गर्दा पाटी सचिवालय सदस्य पदमा रहेका कुमाल अहिले नगर सचिवमा आकांक्षि देखिनुभएको हो । यस्तै डाँगी अहिलेको नगर प्रवक्ता हुनुहन्छ भने केसी तुलसीपुर–१२ को वडा कमीटी अध्यक्ष हुनुहन्छ ।

यसैगरी खड्का जिल्ला सदस्य, परियार विद्यार्थी नेता र विश्वकर्मा दलित अगुवा हुनुहुन्छ । आकंक्षि धेरै देखिएपछि सचिव आफ्नो पोल्टामा पार्न दौडधुप मच्चिएको छ । अन्य पदमा भने आकंक्षिहरु देखिएका छैनन ।

एमाले महासचिव शंकर पोखरेलको गृह नगर तुलसीपुरमा हुन थालेको एमाले नगर अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

यसअघिको जिल्ला अधिवेशनमा तत्कालिन अध्यक्ष हुकम बस्नेत र सचिव मनोहर बुढाथोकीको अध्यक्षमा दावि रहेपछि सर्वसम्मत बनाउन महासचिव पोखरेलले आफ्नै बहिनी जवाई शिवकुमार आचार्यलाई अध्यक्ष बनाउन भूमिका खेल्नुभएको थियो । जसका कारण पनि एमाले तुलसीपुरको नगर अधिवेशन निर्वाचन नभई सर्वसम्मत हुने एमाले नेताहरु बताउँछन् ।

महासचिव पोखरेलले नगर अधिवेशनको उद्घाटन गर्ने नगर सचिव रुप बहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशन तुलसीपुरको दोघरेस्थित मेट्रो होटलमा आइतबार हुने भएको छ । अधिवेशनमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक तथा आर्थिक प्रतिवेदनको तयारी पुरा भएको सचिव खत्रीले बताउनुभयो ।

अधिवेशनका लागि दलित कलस्टरमा ५ पाटी सदस्य बराबर १ जना प्रतिनिधि, अन्यमा १० जना पाटी सदस्य बराबर १ जना प्रतिनिधि गरी पौने ४ सय प्रतिनिधि १९ वटै वडाबाट छनौट गरिएको छ । नेपालमा संघिय व्यवस्था लागु भएपछि एमाले तुलसीपुरको पहिलो अधिवेशन २०७८ कार्तिक ९ गते भएको थियो ।

प्रकाशित मिति : २०८१ असोज ४ गते शुक्रवार