२०८१ असोज १८ गते शुक्रवार

दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिमा नयाँ नेतृत्व चयन



देउखुरी,८ असाेज।

राजपुर गाउँपालिका वडा नम्बर ६ स्थित कल्याणपुर नाकामा रहेको दिपेन्द्र आधारभूत विद्यालय व्यवस्थापन समितिका लागि आइतबार नयाँ नेतृत्व चयन गरिएको छ।

जसको अध्यक्षमा कुमार पुन मगर, सदस्यहरूमा विमला बुढा, सरिता घर्ती, राजपत्ती चौधरी, राजमा पुन, रिम बहादुर घर्ती लगायतलाई चयन गरिएको हो। समितिको सदस्य सचिवमा प्रधानाध्यापक खेमराज यादव रहनुभएकाे छ।

कार्यक्रममा राजपुर गाउँपालिका प्रमुख शरद बुढाथोकी, राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष श्याम रोका, नेपाल-भारत सीमा सुरक्षा सशस्त्र प्रहरी बलका इन्चार्ज बम बहादुर सारु लगायत कल्याणपुर नाकाबासीहरूको उपस्थिति थियो।

विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन गर्नका लागि राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकी र वडा नम्बर ६ का अध्यक्ष श्याम रोका सहितको टोली कल्याणपुर पुग्नुभएकाे थियाे।

विद्यालयमा अध्ययनरत विद्यार्थीलाई गुणस्तरीय  शिक्षा प्रदान गरी अझ सशक्त बनाउदै नमुना विद्यालयका रूपमा विकास गर्न सक्ने क्षमता रहोस् भन्दै समितिमा निर्वाचित  सम्पूर्ण पदाधिकारीलाई पालिका अध्यक्ष बुढाथोकी र वडा अध्यक्ष रोकाले  बधाई एवं शुभकामना दिनुभएकाे थियाे ।

त्यस्तै हरेक घरका अभिभावकले आफ्नो छोराछोरीलाई नियमितरूपमा  विद्यालय पठाई आफ्नो छोराछोरीको पढाइका बारेमा  समय मिलाएर विद्यालयमा पुग्न र विद्यालयका शिक्षकहरूलाई बुझ्न राजपुर पालिका अध्यक्ष बुढाथोकीले आग्रह गर्नुभयाे ।

विद्यालयका लागि चाहिने आवश्यकता अनुसार बजेट व्यवस्थापनका लागि सधैं लागिपर्ने प्रतिबद्धता वडा नम्बर ६ का अध्यक्ष श्याम रोकाले व्यक्त गर्नुुभएकाे थियाे ।

केही महिना पहिले कल्याणपुर विद्यालयको लागि लाखौं रुपैयाँ खर्चमा बनाइएको भवन राम्रोसँग मर्मत नगरिएको र भवन बनाउने ठेकेदारले लापरबाही गरेपछि बर्खायाममा पानी कोठाभित्र पसेर स-साना बालबालिकालाई अध्यनका लागि गाह्रो भएको प्रधानाध्यापक खेमराज यादवले जानकारी दिनुभयाे।त्यति मात्र नभएर विद्यालय वरिपरि पर्खाल र कम्पाउन्ड नभएको हुँदा रातको समयमा वरपर रहेका गाईबस्तुले विद्यालयभित्र बसेर धेरै नोक्सानी गर्ने गरेको पाइएको छ।

विद्यालयमा दुई जना शिक्षकले कक्षा ५ सम्म पठनपाठन गराउँदै आएका छन् भने कुनै समयमा विद्यालयको गेट पालेलेसमेत साना कक्षालाई पढाउने गरेको प्रधानाध्यापक यादवले बताउनुभयाे।

कक्षा पाँच  सम्म विद्यार्लाथीका लागि पर्याप्त कोठा नहुँदा कक्षा एक र दुईका विद्यार्थीलाई सँगै राखेर पढाउनुपर्ने बाध्यता रहेको शिक्षकहरूले गुनासो गरेका थिए।

 

प्रकाशित मिति : २०८१ असोज ८ गते मङ्गलवार