२०८३ बैशाख १९ गते शनिवार

जग्गाको विषयमा विवाद आफ्नै दाइले गरे, भाइको हत्या



दाङ, ३० असोज ।
दाङमा आफ्नै दाइले भाइको हत्या गरेको खुलासा भएको छ । भक्तपुरको नगरकोट गाउँपालिका -१४ निवासी २८ वर्षका अनिल तामाङको आफ्नै दाइ ३१ वर्षका पूणर् तामाङले हत्या गरेको खुलास भएको हो ।

असोज २३ गते दाङको बबई गाउँपालिका -४ हापुरे बजारमा आमाबुवासंग बस्दै आएका अनिलको मंगलबार(हिजो) बिहान हत्या भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिनुभयो । हत्या आरोप लागेका पूणर्लाई प्रहरीले आज बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

जग्गाको विषयलाई लिएर बुबासँग पटक-पटक झगडा गर्ने गरेको र सोही विषयमा आफूसँग पनि विवाद गरेपछि चक्कु प्रहार गरी हत्या गरेको पूणर्ले प्रहरीलाई बयान दिएको डिएसपी ठकुरीले बताउनुभयो । तर मंगलबार भाइको हत्यापछि उनले प्रहरीलाई भाइ आफैले मदिरा सेवन गरी आफ्नै पेटमा चक्कु हानेको बयान दिएका थिए ।

प्रहरीले हत्याको आशंकामा मृतक अनिलका बुवा सोमार तामाङ र पूणर्लाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । अनुसन्धानको क्रममा पूणर्ले आफुले हत्या गरेको स्विकार गरेको डिएसपी ठकुरीले जानकारी दिनुभयो ।

चक्कु प्रहारबाट गम्भिर घाइते भएका अनिलको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मंगलबार बिहान ११ बजेतिर निधन भएको हो ।

उनीहरुको वास्तविक घर भक्तपुर भएपनि मृतककी आमाको माइत हापुरेमा भएकाले उनीहरू एक दशक अघिदेखि हापुरे बजारमा डोल्मा होटल सञ्चालन गरेर बस्दै आएका छन् । मृतक अनिलको श्रीमती र एक छोरा रहेको र उनीहरु हाल भक्तपुरमा रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असोज ३० गते बुधवार