दाङ, ५ कार्तिक ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिका-४, जुम्लेकुलाबाट तास खेलिरहेको अवस्थामा डेढ लाख नगदसहित १० जना जुवाडेलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ।
थापाका अनुसार नियन्त्रणमा परेकाहरूबाट नगद १ लाख ६४ हजार ३ सय ५ रुपैयाँ, ५ थान मोबाइल फोन र १ गड्डी तास बरामद गरिएको छ। शान्तिनगर गाउँपालिका-४ निवासी धर्म बहादुर चन्दको घरमा अवैध रूपमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीको विशेष टोलीले हिजो बेलुकी छापा मारेको थियो।
नियन्त्रणमा परेका व्यक्तिहरू सोही ठाउँ निवासी ५३ वर्षीय देब बहादुर केसी, ५४ वर्षीय सालिकराम भण्डारी, ४३ वर्षीय मेघ बहादुर केसी, ३६ वर्षीय कमल बुढाथोकी, ४८ वर्षीय कालुराम चौधरी, ३१ वर्षीय तेज घर्ती, ४९ वर्षीय धर्म चन्द, ५७ वर्षीय यज्ञ बहादुर केसी, ४२ वर्षीय एकराज डाँगी, र कंचनपुरको बेलौरी नगरपालिका-८ निवासी ३६ वर्षीय विक्रम चौधरी रहेका छन्।
प्रहरीका अनुसार, अवैध जुवा खेल्ने र खेलाउने कार्यलाई कानुनी दायरामा ल्याउन प्रहरीले सशक्त अभियान सञ्चालन गरिरहेको छ। पक्राउ परेकाहरूका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।