
तुलसीपुर, १० कात्तिक ।
शुभारम्भ साना किसान कृषि सहकारी संस्थाले मेहनती किसानलाई सम्मानस्वरूप डेक्ची र फरुवा उपहार प्रदान गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ बम्नैमा रहेको सहकारी संस्थाले आज (शनिबार) आयोजना गरेको एघारौँ साधारण सभाको अवसरमा आफ्ना तीन जना मेहनती शेयर सदस्यलाई डेक्ची र फरुवाले सम्मानित गरेको हो । सम्मानित हुने मेहनती सदस्यहरूमा अनिता राना, डिला थापा र धनसरी रोका रहेका छन् ।
संस्थाले आफ्ना सदस्यहरूलाई उद्यमी भई पशुपालन तथा कृषि व्यवसायमा मेहनत गरेर उल्लेख्य आयआर्जन गरी जीविकोपार्जन गरिरहेको भन्दै, उनीहरूलाई प्रोत्साहनस्वरूप डेक्ची र फरुवा उपहार प्रदान गरेको प्रबन्धक अमृता शर्माले जानकारी दिनुभयो ।
संस्थाका अध्यक्ष कविता शर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यतामा तथा जिल्ला सहकारी संघ दाङका अध्यक्ष हेमराज गौतमको विशिष्ट आतिथ्यतामा साधारण सभाको उद्घाटन कार्यक्रम भएको हो ।
त्यस अवसरमा नगरप्रमुख खड्काले सहकारीमार्फत सदस्यहरूलाई आत्मनिर्भर बन्नुपर्ने धारणा व्यक्त गर्दै आर्थिक समृद्धिका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
देशको कुल जनसंख्याको आधा हिस्सा ओगटेका महिलाले नेतृत्व गरेको सहकारी संस्थाको प्रगति प्रशंसायोग्य रहेको उहाँले उल्लेख गर्नुभयो । थोरै पूँजीबाट सदस्यहरूलाई आबद्ध गराई सहकारीमार्फत आर्थिक रूपमा सक्षम बनाउने अवस्थाको निर्माण भएकाले स्थानीयको सहकारीप्रतिको आकर्षण बढेको पनि उहाँले बताउनुभयो । तर संस्थालाई थप बलियो बनाउन सदस्यहरू जागरूक हुनुपर्ने उहाँको भनाइ थियो ।
यस्तै जिल्ला सहकारी संघ दाङका अध्यक्ष गौतमले सहकारी सदस्यहरूलाई वचत गरेर मात्रै धनी बन्न सकिन्छ भन्ने सन्देश पुर्याउनुपर्ने बताउँदै पछिल्लो समय सहकारीप्रतिको नकारात्मकता बढेपनि नीति र विधिअनुसार सञ्चालित संस्थामा यसको असर नपर्ने उल्लेख गर्नुभयो ।
सदस्यहरूको क्रियाशीलता नै सहकारीको उन्नति र प्रगतिका लागि महत्वपूर्ण रहेको र उद्यमशीलतासँगै आर्थिक समृद्धिमा शेयर सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको पनि उहाँले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामबहादुर जिसी र वडा नम्बर ४ का अध्यक्ष तुल्सी थापालगायतले गाउँघरका निम्नवर्गीय परिवारहरूले सानो पूँजीबाट सहकारीमा जोडिएर अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपाल कृषि सहकारी सङ्घका केन्द्रीय लेखा समिति सदस्य चिरञ्जीवी केसी, राष्ट्रिय सहकारी बैंक तुलसीपुर शाखा प्रमुख पुष्पा क्षेत्री, तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडा सदस्य कुमारी बिक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष कविता शर्माले, आर्थिक प्रतिवेदन प्रबन्धक अमृता शर्माले र लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सदस्य डुविन्द्रराज केसीले प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका उपाध्यक्ष शान्ति चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको सभाको सहजीकरण लेखा समितिका सदस्य तथा सहसचिव डुविन्द्रराज केसीले गर्नुभएको थियो ।
साधारणसभामा विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको छ । ज्येष्ठ शेयर सदस्यहरू झुला वली, कल्चुरी चौधरी, निरबहादुर पुन, डोटादेवी चापागाईं र पुतली वलीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो ।
यस्तै उत्कृष्ट बालवचतकर्ता शिशिर पौडेल, आरूष रोका, प्रिन्सा पन्थी र शुशिला डाँगीलाई स्कुल ब्याग उपहार दिएर सम्मानित गरिएको हो ।
२०७१ सालमा स्थापना भएको संस्थामा हाल ७६८ शेयर सदस्य रहेका छन्। साविकको हलवार (तुलसीपुर-७ र ४) मा कार्यक्षेत्र रहेको संस्थाले नियमित बचत तथा विभिन्न शीर्षकमा कर्जाको कारोबार र रासायनिक मलको बिक्री गर्दै आएको छ ।
आर्थिक वर्ष २०८०/८१ मा सहकारीले ६ करोडभन्दा बढी रकमको कारोबार गरेको छ। महिला सदस्यहरूका लागि सुत्केरी पोसाक खर्च, दैवी प्रकोप खर्च, काजक्रिया खर्च, बीमा लगायतका सदस्य सहयोगी कार्यक्रम पनि सञ्चालनमा छन् ।