२०८१ कार्तिक १९ गते सोमवार

प्रतिक कृषि सहकारीको १२औँ साधारणसभा 



दाङ, १० कार्तिक ।

तुलसीपुर-१८ हेमन्तपुरस्थित प्रतिक कृषि सहकारी संस्थाले १२ औँ साधारणसभा गरेको छ । साधारण सभाको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता तथा तुलसीपुर-१८ का अध्यक्ष माधव वलीले गर्नुभएको हो ।

वडा अध्यक्ष माधव वलीले सहकारीले नीति र नियमको परिधिभित्र रहेर सञ्चालन गर्दा मात्र आफ्नो उद्देश्य पूरा गर्न सक्ने बताउनुभयो । उहाँले दाङका सहकारीहरूले राष्ट्रिय स्तरमा उत्कृष्टता हासिल गरिरहेको उल्लेख गर्दै सहकारीले मुनाफा आर्जन र दीर्घकालीन सफलता हासिल गर्न उत्पादन र व्यवसायमुखी बन्नुपर्नेमा जोड दिनुभयो ।

वलीले प्रतीक कृषि सहकारीले कृषकलाई सहुलियत दरमा रासायनिक मल र बीउ बिजनहरू उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि यस्तै सेवा जारी राख्नुपर्ने बताउनुभयो ।

उहाँले सरकारको सहकारीप्रतिको चासो बढ्दै गएको र सहकारीहरूलाई आर्थिक रूपमा सहयोग पुर्‍याउन विशेष बजेट विनियोजन गरेको विषयमा जानकारी गराउनुभयो ।

साधारण सभामा संस्थाका अध्यक्ष डिल्ली पुनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रगति र भावी योजनाहरूबारे जानकारी दिनुभयो । लेखा समितिका संयोजक नदन कुमार अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा सहभागीहरूले सहकारीको भूमिका, त्यसको प्रभाव र भविष्यका योजना तथा सहकारीको माध्यमबाट कृषकहरूलाई सघाउने विभिन्न उपायहरूबारे विचार राखेका थिए । संस्थाका शेयर सदस्य दामोदर शर्माले स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण संस्थाका शेयर सदस्य कपिल लामिछानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक १० गते शनिवार