२०८१ मङ्सिर २४ गते सोमवार

तुलसीपुरमा जुवाको खालबाट नगद करिब डेढलाखसहित १० जना पक्राउ



तुलसीपुर, १८ कात्तिक।

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरबाट कौडा खेलिरहेको अवस्थामा करिब डेढ लाख नगदसहित १० जना जुवाडेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डिएसपी ईश्वर थापाले जानकारी दिनुभएको छ।

थापाका अनुसार, नियन्त्रणमा परेकाहरूबाट नगद १ लाख ३३ हजार १ सय १० रुपैयाँसहित कौडा खेल्ने क्रममा प्रयोग भएको बुट्टेदार निलो गलैंचा र १७ थान कौडा बरामद गरिएको छ। तुलसीपुर उपमहानगरपालिका-१७ मानपुरस्थित देव बहादुर वलीको घरमा लामो समयदेखि अवैध रूपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले आज बिहान साढे १ बजेतिर छापा मारेको थियो।

नियन्त्रणमा परेका व्यक्तिहरूमा सोही ठाउँ निवासी ५७ वर्षीय भिम वली, ४९ वर्षीय लुमा सिंह बस्नेत, ३२ वर्षीय नरबहादुर चौधरी, ५८ वर्षीय केशर बहादुर वली, ३६ वर्षीय शरद वली, ३८ वर्षीय सुशील वली, ४१ वर्षीय रेख बहादुर वली, ४९ वर्षीय मदन वली, ५१ वर्षीय घरधनी देवबहादुर वली र घोराही उपमहानगरपालिका-९ अश्पारा बस्ने ४९ वर्षीय बालाराम भट्टराई रहेका छन्।

प्रहरीका अनुसार, अवैध जुवा खेल्ने र खेलाउने कार्यलाई कानुनी दायरामा ल्याउन प्रहरीले सशक्त अभियान सञ्चालन गरिरहेको छ। पक्राउ परेकाहरूका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ कार्तिक १८ गते आइतवार