२०८२ चैत्र २० गते शुक्रवार

आउँदो मंसिरभित्र छिल्लीकोटमा जिपलाइन संचालनमा आउने



दाङ, २५ कात्तिक ।
दाङको प्रमुख पर्यटकियस्थल छिल्लीकोटमा आउँदो मंसिरभित्र जिप लाइन संचालनमा आउने भएको छ । मंसिरभित्रै जिपलाइन संचालनमा ल्याउने गरी तयारी भइरहेको सञ्चालक श्रीधर न्यौपानेले बताउनुभयो ।

तुुलसीपुर उपमहानगरपालिका-१९ मा पर्ने छिल्लीकोटमा जिपलाइन संचालनमा आउन लागेको हो । सञ्चालक न्यौपानेका अनुसार रङरोगन र टिकट काउन्टर निर्माणको काम बाँकी रहेपनि मुख्य जिपलाइनको काम पूरा भएको हो ।

दुई वर्ष अघिदेखि निर्माण सुरु भए पनि भौगोलिक विकटताले गर्दा सामान ओसार्न समस्याले निर्माणमा ढिलाइ भएको उहाँको भनाइ छ । तार तान्न नै एक वर्ष ढिलाइ भए पनि तत्काल सुरु गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।

जिपलाइन १ हजार १ सय मिटर लामो छ भने टेक अफ टावर र ल्याण्डिङ टावर उचाइ एक सय ३० डिग्री एलिभेसनमा छ । करिब दुई करोड लागतमा स्थानीय भुल्के सामुदायिक बनको जग्गामा जिपलाइन निर्माण भएको छ ।

जस वापत प्रत्येक टिकट बिक्रीबाट बनलाई ५ प्रतिशत र कालिका मालिका मन्दिरलार्ई ५ प्रतिशत दिने सम्झौता भएको छ । २० वर्षका लागि जिपलाइन सञ्चालन गर्ने गरी सम्झौता भएको उहाँको भनाइ छ ।

जिपलाइनमा १० जना जतिले रोजगारी पनि पाउने छन् । छिल्लीकोट दाङको पर्यटकीयस्थल भएकाले त्यसलाई थप आकर्षक बनाउन जिपलाइन निर्माण गरिएको भन्दै यसले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

साहसिक खेल मानिने जिपलाइनप्रति आकर्षण बढ्ने भएकाले पनि पर्यटन प्रबद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ । छिल्लीकोट रिसोर्ट एण्ड एड्भेन्चर प्रालिको नामबाट उक्त बञ्जिजम्प सञ्चालनमा ल्याउन लागिएको हो । उहाँले केही समयपछि स्काई साइकलिङ, रकक्लाइम्बिङ लगायत थप गर्ने समेत तयारी बताउनुभयो ।

प्रकाशित मिति : २०८१ कार्तिक २५ गते आइतवार